राजु गिरी, पोखरा । राज्यले आफ्नो दायित्व ननिभाएको एक अन्तरक्रियामा बताइएको छ । ब्लु डायमण्ड सोसाइटी कास्कीको आयोजनामा शुक्रबार सरोकारवाला निकायसँगको अन्तरक्रियामा यौनिक तथा अल्पसंख्यक समुदायलाई गर्नुपर्ने दायित्व राज्यले ननिभाएको बताइएको हो ।
ब्लु डायमण्ड सोसाइटीकी केन्द्रीय अध्यक्ष पिंकी गुरुङले यौनिक तथा अल्पसंख्यक समुदायलाई राज्यले गर्नुपर्ने दायित्व ननिभाएको बताएकी छिन् । यौनिक तथा अल्पसंख्यक समुदायको वास्तविक तथ्यांक राज्यसँग नहुँदा हक र अधिकार प्राप्त गर्न नसकिएको उनको भनाई छ । उनले भनिन्, ‘हाम्रो समुदायको वास्तविक तथ्यांक राज्यसँग नहुँदा हामी अधिकारविहिन हुन परेको छ ।’ यौनिक तथा अल्पसंख्यक समुदायको स्तर परिवर्तनका लागि लागिपरेपनि राज्यले त्यसतर्फ ध्यान नदिएको उनको आरोप छ ।
त्यस्तै अन्तरक्रियामा ब्लु डायमण्ड सोसाइटीकी कार्यकारी निर्देशक मनिषा ढकालले जन्म लिँदा पुरुष वा महिला मात्र नभई अन्तरलिङ्गी पनि जन्मिने बताइन् । अन्तरलिङ्गी जन्मदा परिवार र समाजबाट तिरस्कार होइन मायाको खाँचो रहेको उनले औल्याइन् । सरोकारवालाहरुसँगको अन्तरक्रियामा ढकालले यौनिक तथा अल्पसंख्यक समुदायका लागि पनि समावेशी ऐन, नीति तथा बजेटको व्यवस्था हुनु पर्ने माग उक्त समुदायको रहेका बताइन् ।
साथै संघिय, प्रदेश तथा स्थानिय स्तरमा समान प्रतिनिधित्वको अवसर पाउनुपर्ने, राजनीतिक घोषणापत्रमा समावेश गरि समुदायलाई नीति निर्माण तहमा प्रतिनिधित्वको सुनिश्चितता हुनुपर्ने, सरकारीस्तरबाटै साझेदारीका कार्यक्रम ल्याउनुपर्ने, नीति नियम भएको ठाउँमा पनि प्रभावकारी कार्यान्वयन गराउनुपर्ने, नागरिकता प्राप्तीका लागि सहजता हुनुपर्नेलगाएतको माग यौनिक तथा अल्पसंख्यक समुदायको रहेको उनले बताइन् ।
गण्डकी प्रदेश स्तरिय अन्तरक्रियामा राज्यका सरोकारवाला निकायहरुको प्रतिनिधित्व रहेको थियो ।


