शिशुवा अस्पतालमा स्वास्थ्य बिमा प्रकरण : महानगरले थाल्यो छानविन

पोखरा । पोखराको शिशुवाअस्पतालकी एक कर्मचारीको स्वास्थ्य विमा पोलिसीको दुरुपयोग गरिएको घटनाबारे पोखरा महानगरपालिकाले छानविन थालेको छ ।

शिशुवा अस्पतालकी कर्मचारी मिना भट्टराईको स्वास्थ्य विमा कार्डको दुरुपयोग गरि अर्कै व्यक्तिले महंगा औषधी लिएको भन्ने आरोपपछि महानगरपालिकाले सत्य तथ्य बुझ्न कार्यदल बनाएर छानविन प्रक्रिया अगाडी बढाइएको सूचना अधिकारी भरत पौडेलले जानकारी दिए ।

कार्यदलले रिपोर्ट बुझाएपछि घटनाबारे थप प्रक्रिया बढाइने उनले बताए ।

बिमा पोलिसीको दुरुपयोग गर्दै बिरामी नै नभएको अवस्थामा आफ्नो नाममा रहेको विमाबाट महंगा औषधि लिइएको भट्टराईको आरोप छ ।

‘दशै अगाडी मेरो नाममा विभिन्न महंगा ९० वटा औषधि, मुटुका औषधिलगाएतका औषधिहरु अन्य प्रयोगका लागि निकालिएको रहेछ । मेरो नामको विमाको कार्डबाट यसरी दुरुपयोग हुनु ठुलो अपराध हो । म बिरामी नै छैन तर मेरो बिमाको कार्डबाट विभिन्न औषधि निकालिएको छ ।’, उनले भनिन् ।

भट्टराईका अनुसार उनले आफ्नो र परिवारको विमा कार्ड अस्पतालमा नै राख्ने गर्थिन् ।

‘काम नै यहाँ गर्ने भएकाले मैले कार्ड यसै शिशुवा अस्पतालमा राख्ने गर्थे । मेरो कार्डबाट यस्तो भैसकेपछि मैले थाहा पाउने बित्तीकै जानकारी गराएको थिए । मेसुले छानविन गर्छु भन्नुभएको थियो तर दुई महिना वितिसक्दा पनि केही भएको छैन ।’ उनले भनिन् ।

यता अस्पतालकी कार्यालय प्रमुख (मेसु) प्रतिभा कोइराला चापागाईका अनुसार महानगरबाट छानविन समित गठन भैसकेको र छिट्टै सत्य तथ्य बाहिर आउने बताइन् ।

यदि गलत तरिकाले कर्मचारीले दुरुपयोग गरेको वा किर्ते गरेको छ भने जो कोहीलाई पनि कानुनी दायरामा ल्याउनुपर्ने उनको भनाई थियो । छानविन भैरहेकाले को दोषि र को निर्दोष भन्ने विषयमा आफु नबोल्ने बताइन् ।

अस्पताल रहेको वडा नम्बर ३० का वडाध्यक्ष श्रीराम पोखरेलले यस विषयमा बाहिर बाहिर हल्ला सुनेको र आफुलाई आधिकारिक रुपमा कुनै जानकारी नआएको बताउदै प्रतिक्रिया दिन चाहेनन् ।

कमेन्टहरु
Loading...