नेपाल हवाइ खेलकूद संस्थाको स्थापना दिवसमा रक्तदान र वृद्धवृद्धालाई ज्याकेट वितरण

पोखरा । प्याराग्लाइडिङ तथा अल्ट्रालाइटहरुको व्यवसायिक संस्था नेपाल हवाइ खेलकूद संस्था (ना) ले आफ्नो २० औ स्थापना दिवसको अवसर पारेर शनिबार ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेको छ ।

संस्थाका पदाधिकारी र सदस्य सहितको एक टोलिले पोखरा १७ महतगौडा स्थित पोखरा वृद्धाआश्रममा पुगेर न्यानो कपडा वितरण गरेको संस्थाका अध्यक्ष कृष्ण भण्डारीले जानकारी दिए । “जाडो बढेको छ, विभिन्न परिस्थितीका कारण वृद्धाआश्रम बस्नु भएका बुबाआमको लागि न्यानोमायाको रुपमा न्यानो कपडाहरु वितरण गरेका हौ ।” उनले संस्थाले हरेक वर्ष सामाजिक उत्तरदायित्व अन्तरगत सामाजिक कार्य गर्दै आइरहेको जनाउँदै यस वर्ष आश्रममा रहेका ५० जना बुबाआमालाई ज्याकेट वितरण गरेको बताए । वृद्धाआश्रमका सहकोषाध्यक्ष श्रीनाथ आचार्य जाडोमा ज्येष्ठ नागरिककलाई सम्झेर न्यानो ज्याकेट वितरण गरेकोमा संस्थालाई धन्यवाद दिए ।

संस्थाले स्थापना दिवसकै अवसरमा शनिबार विहान आयोजना गरेको रक्तदान कार्यक्रममा प्याराग्लाइडिङ कम्पनिका सदस्य र टेकअफ ल्याण्डिङमा कार्यरत श्रमिकको सहभागितामा ६५ युनिट रगत संकलन भएको संस्थाका महासचिव वलराम आचार्यले जानकारी दिए । उनका अनुसार टेकअफ तथा ल्याण्डिङको फोहोर व्यवस्थापनका लागि ४ थान आधुनिक गार्वेज र सो क्षेत्रमा कार्यरत ४० जना मजदुरहरुलाई समेत ज्याकेट वितरण गरिएको थियो । सो को व्यवस्थापन ‘ना’ पोखरा र कर्मा फ्लाइट नेपालको संयुक्त आयोजनामा सम्पन्न भएको थियो ।

कमेन्टहरु
Loading...