लिङ्देनको शपथ ग्रहण कमल थापाको बहिस्कार

काठमाडौँ । राप्रपा नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले पद तथा गोपनीयताको शपथ लिएका छन् । अध्यक्षले लिएपछि बाँकी पदाधिकारीले पनि शपथ लिएका हुन् । राप्रपाको एकता महाधिवेशनबाट अध्यक्षमा निर्वाचित राजेन्द्र लिङ्देनसहितको नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ ग्रहण कार्यक्रमलाई निवर्तमान अध्यक्ष कमल थापाले बहिस्कार गरेका छन् ।

कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यको प्रमाणपत्र वितरण तथा शपथ ग्रहण कार्यक्रममा थापा भने अनुपस्थित भएका छन् ।

कार्यक्रमबारे उहाँ (कमल थापा)लाई पनि जानकारी गराइएको थियो । तर, उहाँ आउनु भएको छैन’, राप्रपा नेता तथा अधिवक्ता सुजित केसीले भने, ‘उहाँ आउनुहुन्न कि जस्तो लाग्यो । कार्यक्रम भइरहेको छ । अहिलेसम्म आउनु भएको छैन ।’

लिङ्देनको विजयमा पूर्वराजा ज्ञानेन्द्र शाहले भूमिका खेलेको भन्दै आक्रोश व्यक्त गरिरहेका थापा कार्यक्रममा सहभागी नभएका हुन् । थापा अनुपस्थित भए पनि बाँकी निवर्तमान अध्यक्षद्वय पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनी भने कार्यक्रममा सहभागी भएका छन् ।

कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यको प्रमाणपत्र वितरण तथा शपथ ग्रहण कार्यक्रममा निर्वाचन समितिका संयोजक हरिबहादुर बस्नेतबाट लिङ्देनले पद तथा गोपनीयताको शपथ लिएका हुन् । पार्टी, देश र ईश्वरको नाममा उनीहरूले शपथ लिएका हुन् । नवनिर्वाचित पदाधिकारीबाट नवनिर्वाचित सदस्यहरूले पनि शपथ लिएका छन् ।

कमेन्टहरु
Loading...