आठपहरियालाई आदिवासी जनजातिमा सूचीकृत गरिनुपर्ने माग सुनुवाइ भएन

धनकुटा । धनकुटा नगरपालिकामा मुख्य थलो रहेको आठपहरिया जातिले आफूलाई आदिवासी जनजातिमा सूचीकृत गरिनुपर्ने माग राख्दै आए पनि सुनुवाइ हुन सकेको छैन । धनकुटा नगरपालिकामा मात्र बसोबास रहेको यो जातिको जनसंख्या करिब २० हजारको हाराहारीमा छ । आठपहरिया जातिको उत्थानका लागि विभिन्न काम गरेर जागरुक गर्ने काम गरिरहेको आठपहरिया समाज धनकुटाका अध्यक्ष अष्टबहादुर आठपहरियाले बताए ।

यतिबेला आफ्नो प्रमुख चाड वाडाङ्मेट मनाउन व्यस्त छन् । आठपहरिया राईहरूको वर्षभरिमा परेको मृत्यु शोक सामूहिक रूपमा उकास्ने यो एक मात्र पर्व हो वाडाङ्मेट ।

वाडाङ्मेटमा वर्षभरिमा मृत्यु हुने परिवारका सम्पूर्ण सदस्य तीन दिन हिँडेर सुनसरीको बराह क्षेत्रस्थित कोकाहा खोलामा नुहाएर कपाल, दाह्री मुण्डन गरी बराह भगवानको दर्शन गरी बरखी फुकाउने चलन छ । यो चाडमा आफन्तको दुस्ख बोक्नेले कपाल काटेर दसिसहित केश बगाउने प्रचलन छ । तीन दिने यात्राको क्रममा बरखी फुकाउने व्यक्तिले खोलाको बगर तथा खुल्ला ठाउँमा बस्नुपर्ने र अन्य समयमा गाउन नमिल्ने मुन्धुम तथा भक्ति गाउने चलन रहेको उमेश आठपहरियाले बताए ।

यो चाडमा दुस्ख बिर्सिएर भक्ति गाउनुका साथै ढोल, मारुनी, डल्लो नाच नाचेर तथा राँगाको मासु, कुबिन्डो र फिलुगें अचारलगायतका परिकार खाएर मनाइन्छ । कात्तिक पूर्णिमाबाट सुरु भएको यो चाड औंशीसम्म जारी रहन्छ । अन्य जातजातिको भन्दा फरक कला संस्कृति भए पनि यसको प्रचारप्रसार हुन नसकेको दिलबहादुर छाराहाङ आठपहरियाले बताए ।

यो पर्वलाई अन्य जातिको पर्वको जस्तो राज्यले चासो नदिएको आठपहरिया समुदायको गुनासो छ । अन्य जातिको पर्वको सरकारले लामो समय सार्वजनिक बिदा दिए पनि यो चाडमा धनकुटा नगरपालिकाले एक दिन स्थानीय बिदा दिएर टारेको गुनासो उनीहरूको छ ।

कमेन्टहरु
Loading...