राजु गिरी, पोखरा । मृल्य वृद्धिको विरुद्ध कास्कीमा संयुक्तरुपमा विद्यार्थी संगठनहरुले विभिन्न तरिकाले आन्दोलन गर्दै आएका छन् । आज(मंगलबार) भने फरक तरिकाले कास्कीका विद्यार्थी आन्दोलनमा उत्रिएका छन् ।
पोखराको पृथ्वीनारायण क्याम्पस गेट अगाडी रहेको सडकमै विद्यार्थीहरुले खाना पकाएर खाएका छन् । खाना पकाउने ग्यासलगाएत पेट्रोलियम पदार्थको मुल्यवृद्धी विरुद्ध सांकेतिकरुपमा सडकमै विद्यार्थीहरुले खाना पकाएर खाएका हुन् ।
पेट्रोलियम पदार्थको मात्र मुल्यवृद्धि नभई दैनिकरुपमा आवश्यक पर्ने सामानको मुल्यवृद्धि भएको हुँदा त्यसको विरोधमा सडकमै खाना पकाएर खाइएको विद्यार्थी नेता राजन शर्मा पराजुलीले बताए । आन्दोलनलाई रचनात्मक बनाउनुपर्ने उनको भनाई थियो । उनले भने, ‘विद्यार्थी सधै सरकारको प्रतिपक्षमा बसेर गलत कामको विरोध गर्ने र खबरदारी गर्ने गर्छ । सरकारले देश बनाउँछु, देश विकास गर्छु भन्छ तर जनतालाई निस्तो भात खुवाउछ । सरकारले जनताको ढाड सेक्नेगरि मुल्यवृद्धि गर्ने कुनै छुट छैन । सरकारले गरेको यो मुल्यवृद्धि तत्काल फिर्ता गर्नुपर्छ । नत्र थप कडा आन्दोलनका कार्यक्रम आउँदै जानेछ ।’
अर्का विद्यार्थी नेता नेत्र चापागाई भन्छन्, ‘यो गठबन्धन सरकारले गरेको मुल्यवृद्धिको सांकेतिक विरोध गरेका हौं । पेट्रोलियम पदार्थमा मात्र होइन नुन, तेल, चामल, दाल जस्ता दैनिक उपभोग्य सामानहरुको मुल्य वृद्धि भएकाले निस्तो भात खान पनि नसकिने अवस्था पैदा भएको हुँदा मुल्यवृद्धि तत्काल फिर्ता गर्नुपर्छ ।’


