विपद् को कारण के ? जलवायु परिवर्तन की राज्यको उदासीनता

बिरेन्द्र लामिछाने / मुस्ताङ जिल्ला स्थित मानापाथी हिमालबाट खसेको हिउँपहिरो र त्यसले निमत्याएको परिणामले विपद् व्यवस्थापनमा हाम्रा निकायहरुको दुरावस्था उजागर गरिदिएको छ । आइतवार थासाङ -२ मा हिउँपहिरो जाँदा श्री जन आदर्श अमरसिंह मा.वि का ११ जना शिक्षक तथा विद्यार्थि घाइते भए ।

 

यद्यपि पहिरोले चोट भने कसैलाई दिएन ।हिउँ र फास (हिउँ पहिरो जाँदा वातावरणमा फैलने धुलो र बाफ मिश्रित हलुका पदार्थ)को भेद छुट्टाउन नसक्दा उत्पन्न त्रासको कारणले मच्चिएको भागदौडमा परि सो घटना भएको हो । हिमाली क्षेत्रमा हिँउ पहिरो जानु सामन्य नै मान्नुपर्छ तर कहिलेकाँही पहिरो अनियन्त्रित हुँदा स्थानीय वासिन्दाले के कस्ता सावधानी अपनाउने तथा जोखिम पहिचान गरी स्थानीयलाइ कसरी सुरक्षित गर्न सकिन्छ भन्ने विषयमा राज्यको कुनै चासो नरहनु सामन्य विषय हुन सक्दैन ।

 

अझै डरलाग्दो त के छ भने यो र यस्तै प्रकोप घटित भयपछी जवाफदेही निकाय समेतले जलवायु परिवर्तनको असर भनेर हलुका टिप्पणी गर्ने र उम्कने प्रवृत्ति संस्कृतिको रुपमा विकसित भएको छ । यथास्थितिमा केहि पनि रहन सक्दैन । यो प्राकृतिक नियम हो ।यो जलवायुमा पनि लागू हुन्छ । हेक्का रहोस् साढे चार अर्व वर्ष पहिले उत्पति भएको पृथ्वीमा जलवायु परिवर्तन नहुँदो हो त आज न जीवन हुन्थ्यो न मानवको अस्तित्व नै। समस्या हामि आफैमा छ,राज्यको दीर्घकालिन सोच र इच्छाशक्तिमा नै खोट छ ।

 

जलवायु परिवर्तन भइरहँदा हामि परिवर्तन हुन सकिरहेका छैनौँ,हाम्रो संरचना उस्तै छन् , वस्ति विकास र वस्ति स्थानन्तरणको कुनै ठोस योजना छैनन् ,पुर्वाधार निर्माण गर्दा त्यसको दिगोपनालाई वेवास्ता गरिएको छ।जलवायु परिवर्तन अनुकूलनका कार्यक्रमहरु ,कार्यान्वयन गर्ने निकायले गर्यौँ भन्ने खालका मात्र छन् । प्रकोपको जोखिम न्यूनीकरण गर्न रिमोट सेनसिङ् टेक्नोलोजी जस्ता नविन प्रविधि विकसित भइसकेका छन् तर हामि बिपद् आएपछि मात्र भाग्ने र दौडने प्रबिधि लिएर बिपद्को सामना गर्न खोजिरहेका छौँ।यसर्थ राज्यको असक्षमतालाई ढाकछोप गर्न जलवायु परिवर्तनलाई औजार बनाउनु एउटा निरीह राज्यको चरित्र मात्र हो ।

 

यस सन्दर्भलाई थप प्रस्ट गर्न म आफैले प्रत्यक्ष भोगेको कार्तिक २८ को हिउँपहिरो को घटना स्मरण गराउन सान्दर्भिक ठानेको छु । थासाङ-२ को हिउँ पहिरोको सम्वन्धमा न कुनै आधिकारिक निकायबाट पुर्व सुचना प्राप्त भयो न पहिरो पश्चात जोखिमको मुल्याङ्कन गर्न कुनै विशेषज्ञ टोलिको उपस्थिति नै भएको छ।पहिरो आएको समयमा रुँदै कराउँदै कालिगन्डकी बगरमा भागदौड गरेका स्थानीयहरु अब त पहिरो आँउदैन होला भन्ने मनोविज्ञानले घरभित्र त गएका छन् तर यो त्रासदीले सबैको मनमा छेडिदिएको घाउ लामो समयसम्म निको नहुने निश्चित छ।यसरी नै बॉच्नुपरेको छ हिमालका बस्तिहरु ।

 

आफ्ना नागरिकलाई शान्ति,सुरक्षा र अमनचयन दिलाउने उदेश्यले राज्यको स्थापना भएको हुन्छ । प्रकोप व्यवस्थापनमा प्रकोप पूर्व,प्रकोपको समयमा र प्रकोप पश्चात नागरिकले राज्यको ठुलो भुमिका अपेक्षा गरेको हुन्छ।तर आफ्नो दायित्व र नागरिक अधिकार प्रति उदासीन राज्यले यस्ता विषयलाई हाउगुजी बनाउनु बाहेक केही उल्लेखनीय कार्य गरेको पाइँदैन । मुस्ताङमा हिउँ पहिरो खसेकै अगिल्लो दिन जलवायु परिवर्तन सम्वन्धी विश्व सम्मेलन कोप २६ सम्पन्न भएको थियो ।उक्त सम्मेलनको सुरुवात मै सम्मेलनको अध्यक्षता गरेका बेलायती सांसद आलोक शर्माले मुस्ताङमा जलवायु परिवर्तनले पारेको असरको उठान गरेका थिए ।

 

साथै नेपालका प्रतिनिधिहरूले पनी कार्बन उत्सर्जनमा भएको वृद्धि र विश्वब्यापी तापमान वृद्धिको कारण हिमाली क्षेत्रमा हिउँ पगलिएर परेको जोखिमको सवाल उठाएका थिए।सम्झौताले जलवायु परिवर्तनसँग अनुकूलन गर्न विकासोन्मुख देशहरूलाई दिने रकम कम्तीमा दोब्बर गर्न धनीराष्ट्रहरूलाई आग्रह समेत गरेको छ । यसरी जलवायु परिवर्तनले पारेको असरको पुलिन्दा लिएर प्रत्येक वर्ष अन्तर्राष्ट्रीय सम्मेलनमा भाग लिने नेपालले जोखिम न्यूनीकरणको लागि भने कुनै प्रभाबकारी कार्यक्रम संचालन गर्न सकिरहेको छैन । यसर्थ जलवायु परिवर्तनको समस्यालाई अन्तर्राष्ट्रीय मञ्चमा पस्कने विषयमा सिमित गरेर आफ्ना नागरिकलाई सुरक्षित गर्न कुनै योजना दिन नसक्ने राज्य नै विपद्को प्रमुख कारण हो ।

 

(लेखक कार्तिक २८ गते मुस्ताङमा आएको हिउँ पहिरोको कारण घाइते भएका जन आदर्श अमरसिंह मा.वि का शिक्षक हुन् ।)

 

कमेन्टहरु
Loading...