आजबाट राष्ट्रिय जनगणना कार्यक्रम सुरु

पोखरा । राष्ट्रिय जनगणना कार्यक्रम बिहीबारदेखि सुरु भएको छ । सरकारले हरेक १०र१० बर्षमा जनगणना गर्दै आएको छ । १२ औं राष्ट्रिय जनगणना ‘मेरो जनगणना, मेरो सहभागिता’ नारासहित यस वर्ष २५ कात्तिकदेखि सुरु भई ९ मंसिरसम्म चल्ने छ ।

जनगणनाका लागि देशैभर गरी ३९ हजार गणक र आठ हजार पाँच सय जना गणक कार्यक्षेत्रमा खटिएका छन् । यसपटक हुने जनगणनामा व्यक्तीको संख्या मात्र नभएर मुलुकमा रहेका समग्र घर, जग्गा, उद्योग, कल कारखाना, व्यक्तीको पेशा, व्यवसाय, शिक्षा, खानेपानी, आर्थिक अवस्था, घरायसी सुविधा र साधनहरु, बार्षिक आय, बालबालिका, उनीहरुको स्वास्थ्य, आवासको अवस्था लगाएतका विषयमा समेत विस्तृत तथ्याङ्क संकलन गरिने छ । यस्तै जनगणनाका लागि ८० वटा प्रश्नावली बनाइएको छ । एक जना गणकले औसत एक दिनमा बाह्रवटा घर परिवारको गणना गर्नुपर्ने केन्द्रीय तथ्याङ्क विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले जानकारी दिए।

विभागले पत्रकार सम्मेलन गरी दिएको जानकारी अनुसार गणनाको थालनीमा कात्तिक २५ गते बिहान साढे नौ बजे राष्ट्रपति विद्यादेवि भण्डारीको परिवारको विवरण गणना गरिनेछ । त्यसपछि बिहान ११ बजे प्रधानमन्त्री शेरबहादुर देउवा परिवारको र दिउँसो १ बजे उपराष्ट्रपति नन्दबहादुर पुन परिवारको तथ्यांक संकलन गर्ने तयारी गरिएको छ । यस्तै प्रदेशमा मुख्यमन्त्री, स्थानीय तहमा नगर तथा गाउँ प्रमुख र वडामा वडाध्यक्षको गणना गरी जनगणनाको प्रारम्भ गरिने जनाएको छ ।

सातवटै प्रदेश कार्यालय, ८७ वटा जिल्ला जनगणना कार्यालय र ३५० वटा स्थानीय जनगणना कार्यालय सञ्चालनमा ल्याइएको छ । गत भदौ ३० देखि कात्तिक १८ गतेसम्म घर तथा घरपरिवार सूचीकरण कार्य सम्पन्न भएको थियो ।

कमेन्टहरु
Loading...