एमाले कास्की जिल्ला कमिटीमा मनोनितसँगै चुलियो असन्तुष्टि

गन्थन संवाददाता, पोखरा । नेकपा एमालेको जिल्ला कमिटी बनेसँगै आन्तरिक असन्तुष्टि देखिएको छ । जिल्ला अध्यक्ष कृष्ण थापा र सचिव दामोदर बैरागीले एकलौटी रुपमा मनोनित गरेको भन्दै नेकपा एमाले निकट नेता कार्यकर्ताले सामाजिक सञ्जालमा आक्रोस पोखेका छन् ।

नाम नखुलाउने सर्तमा एक एमाले युवा नेताले असन्तुष्ट व्यक्त गर्दै उनले भने, ‘अर्को पार्टीबाट आएपछि सिधै जिल्ला सदस्य बनाईदिने तर हामी लामो समयदेखि पार्टीलाई योगदान दिनेको कुनै कदर छैन । ज्यु ज्यु गर्नेलाई मनोनित गराउने हो भने यो एमाले पार्टीमा रहनु कुनै औचित्य छैन ।’ लामो समय पार्टीलाई योगदान दिएकालाई पन्छाइएका कारण धेरैमा असन्तुष्टि देखिएको उनले बताए । पोखरा महानगर कमिटीमा समेत युवाहरुलाई पछाडी पारिएको र जिल्लामा समेटिने भनिएपनि त्यस्तो नगरिएका कारण उनले रोष्ट व्यक्त गरे ।
मनोनित हुनका लागि जसले नेताको घरदैलो चहा¥यो उहि नै मनोनित भएका उनको आरोप छ ।

यस विषयमा एमाले कास्कीका अध्यक्ष कृष्ण थापासँग बुझ्दा मनोनयन आफुले एकलौटी रुपमा गर्ने निर्णय नभएको र एउटा टिमले गर्ने निर्णय भएको बताए । उनका अनुसार अहिले बन्ने कमिटीले आउन लागेको जिल्ला अधिवेशनलाई सम्पन्न गर्न बनेको कमिटी हो ।

अधिवेशनले नै आधिकारीक जिल्ला कमिटी बन्ने अध्यक्ष थापाले बताए । कमिटी १ सय २१ देखि १ सय २७ जना संख्याको हुन सक्ने थापाको भनाई छ ।

अन्य पार्टीका कार्यकर्तालाई भित्राउन मनोनित गरेका कारण युवाहरु रुष्ट छन् भन्ने गन्थनको प्रश्नमा एमाले कास्कीका अध्यक्ष कृष्ण थापाले भने, ‘यो बेला रुष्ट हुने समय नै हो । रुष्ट हुनेको संख्या पनि देखियो होला तर वास्तवमा तेस्तो छैन । हामीले विधान अनुसारनै कमिटी गठन गरेका छौं ।’

कमेन्टहरु
Loading...