राजु गिरी, पोखरा । जनगणना नजिकिदै गर्दा पोखरामा अपाङ्गता समावेशी जनगणनाको लागि सरोकारवालाहरुको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम गरिएको छ । राष्ट्रिय अपाङ्ग महासंघ गण्डकी प्रदेशको आयोजना तथा डिपिओडि डेनमार्क र एफएफओ नर्वेको साझेदारीमा उक्त अन्तरक्रिया आयोजना भएको हो ।
अन्तरक्रियाको मुख्य उद्देश्य नै यहि २५ गते देखि शुरु हुने जनगणनामा अपाङ्गता भएका व्यक्तिहरु कोही पनि नछुटुन भन्ने रहेको आयोजकको छ । अपाङ्गता भएका व्यक्तिलाई समाजले हेर्ने नजर सकारात्मक हुँदै आएको हुँदा सबैको तथ्यांक जनगणनामा आउनुपर्ने राष्ट्रिय अपाङ्ग महासंघका अध्यक्ष मित्रलाल शर्माले बताए ।
त्यस्तै गण्डकी प्रदेश सरकारका प्रमुख सचिव डा. दामोदर रेग्मीले जनगणनामा अपाङ्गता भएका व्यक्ति नछुटुन भन्नका लागि सचेतना गराइरहेको जानकारी दिए । समावेशी हुनु आवश्यक रहेको र सरकारको नीति निर्णयहरु अपाङ्गमैत्री बन्नुपर्ने उनको भनाई थियो ।
‘महासंघले उठाएका विषयलाई अव हुने जनगणनामा समावेश गराउन प्रदेश सरकार प्रतिवद्ध रहेको छ ।’ ,उनले भने । जनगणनालाई अपाङ्गमैत्री बनाउनमा सबैले सहयोग गरिदिन समेत उनले आग्रह गरे ।
त्यसैगरि जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल कुमार शाहीले अपाङ्गता भएका व्यक्तिको हिजोको क्रियाशिलताले नतिजा अपाङ्गमैत्री आउनेमा विश्वस्त गराए । साथै सबै ठाउँमा अपाङ्गमैत्री बनाउन कास्की प्रशासन सहकार्य गर्न प्रतिवद्ध रहेको उनको भनाई थियो ।
त्यस्तै जनगणना अधिकृत गण्डकीका जग्गुलाल बस्यालले जनगणनामा कोही नछुटुन र कोही नदोहोरिउन भन्ने नारालाई आत्मसाथ गर्दै कार्य अगाडी बढाइने बताए । नदेखिने अपाङ्गता बढि रहेका र उनीहरु छुट्ने सम्भावना रहेको हुँदा सजगता अपनाउन आग्रह गरे ।
अन्तरक्रियामा विभिन्न सरकारी तथा गैह्रसरकारी संघ संस्थाहरुले जनगणनामा अपाङ्गता भएका व्यक्ति कोही नछुटाउन र छुट्न नदिन आ–आफ्नो पहल रहने प्रतिवद्धता व्यक्त गरे ।
सरकारी डाटामा अपाङ्गता भएका व्यक्तिको सहि तथ्यांक नहुँदा समस्या आएको अपाङ्ग महासंघको भनाई छ ।

