राजीनामा दिन प्रधानन्यायाधीश जबरालाई पाँच दिनको अल्टिमेटम

काठमाडौँ । नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध विरोधका कार्यक्रम सार्वजनिक गर्दै राजीनामा दिन प्रधानन्यायाधीश जबरालाई ५ दिने अल्टिमेटम दिएको छ । अदालतमा हुने विकृति, विसंगति, भ्रष्टाचार रोक्न नसकेको तथा न्यायपालिकाको गरीमा कायम गर्न नसकेकाले राजीनामा मागिएको  बार एशोसिएसनले बताएको छ ।

बुधबारसम्म सर्वोच्चमा एक घन्टा कालोपट्टी बाँधेर विरोध प्रदर्शन गर्ने तथा मंगलबार सर्वोच्च प्रांगणमा धर्ना तथा विरोधसभासमेत गर्ने घोषणा बारले गरेको छ । ‘कात्तिक १४, १५, १६ र १७ गतेसम्म प्रत्येक दिन बिहान १० देखि ११ बजेसम्म सर्वोच्च अदालतमा कालोपट्टी बाँधी विरोध कार्यक्रम गर्ने, कात्तिक १६ मा सर्वोच्च प्रांगणमा धर्ना र विरोधसभा गर्ने निर्णय गरिएको छ,’ शुक्रबार बारको बैठकपछि महासचिव लीलामणि पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

आन्दोलनको अवधिभर जबराले राजीनामा दिइसक्नुपर्ने बारको दाबी छ । ‘राजीनामा नआए विरोधका थप कार्यक्रम घोषणा गर्नेछौं उपाध्यक्ष रक्षा बस्यालले भनिन्।’यसअघि पनि नेपाल बारले आन्दोलन गरेको स्मरण गर्दै नेपाल बारका महासचिव पौडेलले भने, ‘आन्दोलन नेपाल बार शोसिएसनको रहर होइन, बाध्यता हो । समय क्रममा हाम्रा आन्दोलनले निश्चित निकास पनि दिएका छन् । हामी आशा र विश्वास गर्छौं, यो आन्दोलनले पनि एउटा निश्चित निष्कर्षमा पुर्‍याउनेछ ।’

 

कमेन्टहरु
Loading...