वीरेन्द्रनगर । कर्णाली प्रदेशको मुख्यमन्त्रीका दावेदार नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले कात्तिक १५ पछि आफू मुख्यमन्त्री बन्ने जिकिर गरेका छन् । उनले गत वैशाख २ गते अहिलेका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र तत्कालीन एमाले नेता प्रकाश ज्वालाबीच लिखित सम्झौता भएका कारण आफू नै मुख्यमन्त्री बन्ने विश्वास व्यक्त गरे ।
गत वैशाख ३ गते मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिँदै गर्दा प्रतिपक्षको भूमिकामा रहेको नेपाली कांग्रेसको सहयोग लिएका थिए। विश्वासको मत लिँदै गर्दा उनले कांग्रेससँग आलोपालो सरकार सञ्चालन गर्नेबारे लिखित सम्झौतासमेत भएको थियो । मुख्यमन्त्री शाहीको समयावधि सकिन लागेकाले नेता शाहीले अब आफू मुख्यमन्त्री हुने पालो आएको बताएका छन् ।
केन्द्रको सत्ता गठबन्धनमा प्रदेश सरकारको भागबण्डामा कर्णाली कांग्रेसले नपाउने भन्ने चर्चा भइरहेका बेला “माओवादीबाट धोका हुँदैन भन्ने विश्वासमा छु ।” शाहीले भने ।