नागरिक आकाङ्क्षालाई कार्यरूप युगीन अभिभारा हो : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानद्वारा प्रत्याभूत नागरिक आकाङ्क्षालाई कार्यरूप दिनु अहिलेको युगीन अभिभारा भएको बताएकी छन् ।

संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा दिएको शुभकामना सन्देशमा उनले राज्यबाट प्राप्त हुने सेवा र सुविधाहरूमा सबै नागरिकको समान पहुँच स्थापित गर्नुका साथै नागरिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति प्रदान गर्न आवश्यक भएको उल्लेख गरेकी छन् ।

‘नेपाली जनताको बलिदानपूर्ण सङ्घर्षको फलस्वरुप जननिर्वाचित संविधानसभाद्वारा २०७२ साल असोज ३ गते नेपालको संविधान जारी भएकामा सम्मान र त्यस दिनको स्मरणस्वरुप आज हामी संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइरहेका छौँ’ भन्दै उनले देशभित्र तथा बाहिर रहेका सबै नेपालीलाई शुभकामना व्यक्त गरेकी हुन् ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि भएका विभिन्न आन्दोलनका क्रममा अमूल्य जीवन बलिदान गर्ने शहीदप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै राष्ट्रपतिले मुलुकमा लोकतान्त्रिक प्रणाली स्थापना गर्न मार्गदर्शन गर्नुहुने अग्रजप्रति सम्मान प्रकट गरेकी छन् ।

कमेन्टहरु
Loading...