मालेपाटनमा ठेलो प्रतियोगिता सम्पन्न, सिनियरतर्फ किरन र जुनियरतर्फ दिपेन्द्रले जिते उपाधि

राजु गिरी, पोखरा । पोखरा महानगरपालिका वडा नं. ५ मालेपाटन बाराही खेल मैदानमा दुई विधामा खुला ठेलो प्रतियोगिता सम्पन्न भएको छ । ठेलो क्लव पोखराको आयोजनामा आज सिनियर र जुनियर गरि दुई विधामा प्रतियोगिता सम्पन्न भएको हो ।

सिनियरतर्फको १२.८१० केजी ठेलो तौल समूहमा किरन सुनार प्रथम, रोहित सुनार दोश्रो र रबिन सुनार तेश्रो स्थानमा आउन सफल भए । त्यस्तै जुनियर तर्फ १०.४४६ केजी ठेलो तौल समूहमा दिपेन्द्र गुरुङ प्रथम, राहुल बिक दोश्रो र सञ्जय गुरुङ तेश्रो हुन सफल भए ।

प्रतियोगिताको उदघाटन गर्दै पोखरा महानगरपालिकाका प्रवक्ता एवं वडा ५ का वडाध्यक्ष धन बहादुर नेपालीले खेलकुद प्रतियोगिता आयोजना भैरहेमा खेलाडीमा उर्जा पैदा हुने बताए । पोखरालाई खेलकुदको शहर भनिरहँदा खेलकुद प्रतियोगिता आयोजना हुनु समग्र खेलको विकास हुनु र खेलाडीको मनोवललाई उच्च राख्नु भएको उनको तर्क थियो । खेल विकासका लागि वडा तथा महानगर सदैव तयार रहेको प्रतिवद्धता समेत नेपालीले व्यक्त गरे ।

त्यस्तै ठेलो क्लव पोखराका अध्यक्ष प्रेम गुरुङले ठेलो प्रेमीहरुको सुझाव अनुसार पहिलो पटक राखिएको ठेलो प्रतियोगितामा उल्लेख्य सहभागिताले संस्थालाई थप प्रेरित बनाएको बताए । आगामी दिनमा थप व्यवस्थित गर्दै निरन्तर ठेलो प्रतियोगिता राखिने प्रतिवद्धता समेत गुरुङले व्यक्त गरे ।

प्रतियोगिता पश्चात विजेताहरुलाई ट्रफि र प्रमाणपत्र प्रदान गरिएको थियो । साथै ५४ वर्षको उमेरमा समेत ठेलो प्रतियोगितामा सहभागिता जनाएकोमा कुमार सुनारलाई सम्मान समेत गरिएको थियो । कार्यक्रमको सञ्चालन संस्थाका सल्लाहकार लालकुमार अधिकारीले गरेका थिए ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

कमेन्टहरु
Loading...