ट्राभल मार्टमा होटल संघ सहभागि हुँदै

पोखरा, १ माघ/गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा मंगलवारबाट सुरु हुने नेपाल–भारत संयुक्त ट्राभल मार्टमा पश्चिमाञ्चल होटल संघ पोखराको टोलीले विशेष सहभागिता जनाउने भएको छ । संघका अध्यक्ष हरिप्रसाद शर्मा गैह्रेको नेतृत्वमा संघ आवद्ध विभिन्न १५ होटलका व्यवसायीले दुई दिने ट्राभल मार्टमा सहभागिता जनाउन लागेका हुन् । संघका निवर्तमान अध्यक्ष विप्लव पौडेल सहित व्यवसायीको टोली मंगलवार विहान लुम्बिनी प्रस्थान गर्ने कार्यक्रम रहेको संघका अध्यक्ष गैह्रेले जानकारी दिए ।नेपाल र भारतविच यसप्रकारको संयक्त ट्राभल मार्ट नेपालमा पहिलोपटक आयोजना हुन लागेको हो । ट्राभल मार्टमा नेपालका कूल ६० जना व्यवसायीले भाग लिने जनाइएको छ । भारतको पर्यटन मन्त्रालय, भारतकै उत्तर प्रदेश र विहारका पर्यटन कार्यालयका उच्च अधिकारीले समेत यो मार्टमा सहभागिता जनाउन लागेका छन् । नेपालको पर्यटन मन्त्रालय र इन्डियन काउन्सिल अफ कल्चरल रिलेसनस्ले यो कार्यक्रम संयुक्त रुपमा आयोजना गर्न लागेका हुन् ।

ट्राभल मार्टमा नेपाल र भारतका व्यवसाय र पर्यटन सेवा सम्वद्ध स्टलहरु रहने र तिनमा खासगरी होटेल, ट्राभल, ट्रेकिङ र अन्य पर्यटन सम्वद्ध व्यवसायी विच प्याकेज र सुचनाहरु आदानप्रदान गर्ने कार्यक्रम रहेको संघका अध्यक्ष गैह्रेले जानकारी दिए । ट्राभल मार्टले नेपाल र भारत दुबै तर्फको पर्यटन प्रवद्र्धनमा सघाउ पु¥याउने विश्वास अध्यक्ष गैह्रेले व्यक्त गरे । दुबै तर्फका व्यवसायीका लागि यो प्रवद्र्धनको राम्रो अवसर समेत रहेको उनको बुझाई छ ।

ट्राभल मार्टमा विजनेस टु विजनेस मिटिङ र अन्तरिक्रिया पनि सरिक गरिने छ । बुद्ध धर्म सम्वन्धि अन्तरक्रिया समेत मार्टका अवसरमा आयोजना हुने जनाइएको छ । नेपाल सरकारले घोषणा गरेको लुम्बिनी भ्रमण वर्ष समापनका अवसरमा ट्राभल मार्ट आयोजना हुन लागेको हो । सन् २०१२ मा पाँच लाख ९८ हजार दुई सय चार पर्यटक हवाई मार्गबाट लुम्बिनी पुगेका थिए । अघिल्लो वर्षको तुलनामा यो नौ दशमलव आठ प्रतिशतको बृद्धि हो । निकट भविश्यमा पोखरा र काठमाडौंमा समेत यस्तो ट्राभल मार्ट आयोजना हुन लागेको जनाइएको छ ।

मुख्य गरी भारतबाट कसरी धार्मिक पर्यटक लुम्बिनी र नेपालका अन्य ठाउँमा भित्र्याउन सकिन्छ भन्ने उद्धेश्य मार्टले लिएको जनाइएको छ । यसैगरी पोखरेली व्यवसायीले लुम्बिनी र मुक्तिनाथ जस्ता ठाउँमा पुग्ने भारतीय र अन्य पर्यटकका लागि आफ्ना प्याकेज र पोखरा सबै मौसमका लागि उपयुक्त छ भन्ने सन्देश समेत ट्राभल मार्टमा भारतीय व्यवसायीलाई दिने छन् । पोखरामा सामान्य देखि विभिन्न सेवा सुविधा जोडिएका पर्यटकीय र तारे सहित चार सय भन्दा बढी होटलमा करिव १५ हजारलाई वस्ने खाने व्यवस्था छ ।

कमेन्टहरु
Loading...