पोखरामा यौनिक तथा लैङ्गीक अल्पसंख्यक समुदायले मनायो गाइजात्रा पर्व (भिडियाे सहित)

राजु गिरी, पोखरा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर मनाइएको छ । बढ्दो कोभिडका कारण विगतका वर्ष जसरी नमनाए पनि स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर देशका विभिन्न ठाउँहरुमा आज पनि गाइजात्रा पर्वलाई मनाइएको हो ।

गाइजात्रामा एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्ने प्रचलन रहिआएको छ ।

आजकै दिन यौनिक तथा लैङ्गीक अल्पसंख्यक समुदायले पनि अन्तर्रास्ट्रियरुपमा गाइजात्रा पर्व मनाउदै आउने गरेका छन् । त्यस्तैमा आज पोखराको नागढुङ्गामा यौनिक तथा लैङ्गीक अल्पसंख्यक समुदायका तेस्रोलिङ्गी, समलिङ्गीहरुले कोभिडका कारण भव्य कार्यक्रमको आयोजना नगरि सांकेतिकरुपमा ‘१८औं अन्तर्राष्ट्रिय गाइजात्रा पर्व’ मनाएका छन् ।

विगतमा नेपालका मुख्य शहरहरुमा भव्यरुपमा आयोजना गरि मनाउने गरेपनि यसपाली प्लेकार्ड सहित सामान्य ¥याली गरिएको तेस्रो लिङ्गी अधिकारकर्मी तथा ब्लु डायमण्ड संस्थाकी भुमिका श्रेष्ठले बताइन् । उक्त समुदायले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदाय हक अधिकारलाई स्थापित गर्न, पहिचानको संरक्षण गर्न, असमानता हटाउन, राज्यको नीति नियम बनाउने निकायमा आवाज राज्यसम्म पुराउन गाइजात्रा पर्व मनाउने गरेको उनको भनाई छ ।
उनी भन्छिन्, ‘आज भव्यरुपमा मनाउन नपाएपनि हामी सबैलाई समानता आवश्यक छ भन्ने संदेश यसै कार्यक्रम मार्फत दिन चाहन्छौं ।’

‘गाइजात्राको दिन हाम्रो समुदायको साथीहरु इच्छा लागेको लुगा लगाउने, मनपरेको मेकअप गर्ने, एक दिन भएपनि आफ्नो जिन्दगी कस्तो हुन्छ भनेर बाच्ने र खुल्न नसकेका साथीहरु आज खुलेर सहभागि भई एक दिन मजाले जिउने हो । साथै गाइजात्रा संस्कृतिलाई पनि विर्सन हुदैन, यस दिन हामीले हाम्रा समुदायका साथीहरु जो दिवंगत हुनुभएको छ उहाँहरुको सम्झना पनि हामी गर्छौ ।’

त्यस्तै नौलो बिहानी पोखराकी अध्यक्ष बिन्दीया गौतमले आफ्नो हक हितका लागि खुलेर आवाज उठाउन आग्रह गरिन् । यौनिक तथा लैङ्गीक अल्पसंख्यक समुदायका तर खुल्न नचाहनेका लागि पनि आजको दिन खुलेर आउनुपर्ने उनको भनाई थियो । उनी भन्छिन् ‘कोरोनामा हाम्रो समुदायलाई निकै नै असर पारेको छ । राज्यको ध्यान यसतर्फ आउनु आवश्यक छ ।’

त्यसैगरि खुलेका र नखुलेका यौनिक तथा लैङ्गीक अल्पसंख्यक समुदायलाई हौसला दिनको लागि पनि यो गाइजात्रा पर्व मनाउने गरेको नौलो बिहानी पोखराका डाइरेक्टर सुमित थापा बताउँछन् । साथै ज्यान गुमाउनेहरुप्रति पनि सम्झना स्वरुप आफ्नो समुदायले यो पर्व मनाउने गरिएको उनको भनाई थियो ।

कार्यक्रम ब्लु डायमण्ड सोसाइटी र नौलो बिहानीको संयुक्तरुपमा आयोजना भएको थियो ।

कमेन्टहरु
Loading...