लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन अन्त्य

लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन अन्त्य भएको छ ।

मुख्यमन्त्री शङ्कर पोखरेलले राजीनामा दिएको आधिकारिक जानकारी प्रदेशसभाले पाएपछि आजदखि शुरु भएको लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन अन्त्य भएको हो । पूर्वनिर्धारित तालिका अनुसार आज १ बजेदेखि विशेष अधिवेशन शुरु भएको थियो ।

त्यसअघि अधिवेशनमा नेपाली काँग्रेस संसदीय दलका नेता वीरेन्द्रप्रसाद कनौडियाले अविश्वासको प्रस्ताव गरेका थिए। नेता कानोडियाले ढिलै भए पनि राजीनामा दिएको भन्दै मुख्यमन्त्री पोखरेललाई धन्यवाद दिए ।

बैठकमा सहसराम यादव, तारा जिसी, कृष्णध्वज खड्काले अविश्वास प्रस्तावमा समर्थन जनाएका थिए । अविश्वास प्रस्तावमाथि छलफल सकिएपछि एक घण्टाका लागि अधिवेशन स्थगित भएको थियो ।

सभामुख पूर्णबहादुर घर्तीले पुनःप्रदेशसभाको दोस्रो बैठक शुरु गर्दै मुख्यमन्त्रीको राजीनामा पत्र पढेर सुनाएपछि विशेष अधिवेशन सकिएको जानकारी गराउनुभएको थियो । संविधानको धारा १६८ को १ बमोजिम एमालेको एकल बहुमतमा शङ्कर पोखरेल मुख्यमन्त्री बनेका थिए । विपक्षी गठबन्धनमा ४१ सदस्य छन् । गठबन्धनबाट मुख्यमन्त्री पदका लागि माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीलाई प्रस्ताव गरिएको छ ।

बैठक शुरु हुनुअघि नै मुख्यमन्त्री पोखरेलले पदबाट राजीनामा दिए पनि प्रदेशसभा बैठक पूर्वनिर्धारित कार्यसूचीअनुसार चलेको थियो । प्रदेशसभा बैठकबाट सत्ता पक्षका सदस्यको उपस्थिति थिएन ।

कमेन्टहरु
Loading...