पोखरा । कास्कीका क्रियाशिल पत्रकार रञ्जन अधिकारीलाई समाचार लेखेको विषयलाई लिएर धम्की आएको घटनामा नेपाल पत्रकार महासंघ कास्की शाखाले अभिभावकत्व ग्रहण गर्न नसकेको भन्दै प्रेस चौतारी कास्कीले तालाबन्दी गरेको छ । पत्रकारहरुको संगठन नै पत्रकारको अभिभावकत्व लिन सकेन भन्दै चौतारीले शनिबार तालाबन्दी गरेको हो ।
रञ्जन अधिकारीले लेखेको समाचारको विषयलाई लिएर नवलपरासी घर भई पोखरा ११ बस्दै आएका श्रीकृष्ण श्रेष्ठले अधिकारीलाई तीन दिनसम्म फोन मार्फत् तनाव दिने, फेसबुक म्यासेन्जर र एसएमएसमार्फत् धम्की दिने, मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको पावर चलाउँछु भन्दै धाकधम्की लगाउने कार्य भएकोमा प्रेस चौतारी कास्की शाखाको गम्भीर ध्यानाकर्षण भएको र यसमा पत्रकारहरुको संगठनले केही नबोलेको भन्दै तालाबन्दी गरिएको प्रेस चौतारीले जनाएको छ ।
पत्रकारमाथि यस्ता धम्की आउँदा पनि पत्रकार महासंघले अभिवाकत्व ग्रहण नगरेको भन्दै तालाबन्दी गरिएको हो । साथै यस्तो निन्दनिय कार्यमा संलग्न व्यक्ति श्रीकृष्ण श्रेष्ठ र प्रयोग भएका सफल सुवेदीलाई कारबाहीको दायरामा नल्याउदासम्म तालाबन्दी नखोलिने प्रेस चौतारीले जनाएको छ ।
जवसमम पत्रकारको न्याय, हक हितका लागि काम हुँदैन तवसम्म ताला नखोलिने प्रेस चौतारीका अध्यक्ष अर्जुन गिरीले बताए ।
यता पत्रकार महासंघ कास्कीकी अध्यक्ष बिमला भण्डारीले महासंघले पत्रकारको अभिभावकत्व ग्रहण गर्दै आएको र अहिले पनि गरिरहेको बताइन् । त्यस्तै दोषि जो कोहीलाई पनि कानुनको दायरामा ल्याएर कारबाही गर्नुुपर्ने अनलाइन पत्रकार संघ गण्डकी प्रदेशका अध्यक्ष कमल सुवेदीले बताए ।
