प्रकाश मानवअधिकार पुरस्कार चौधरीलाई

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले यसवर्षको ‘२७ औँ प्रकाश मानवअधिकार पुरस्कार’ फिरुलाल चौधरीलाई प्रदान गर्ने भएको छ ।

पुरस्कार छनौट समितिले शोषण, विपन्नता, विभेद्मुक्त समाज निर्माणको अभियानमा तीन दशकदेखि क्रियाशील रहेका कैलाली जानकी गाउँपालिकाका चौधरीलाई पुरस्कार दिने निर्णय गरेको इन्सेकका अध्यक्ष इन्दिरा श्रेष्ठले जानकारी दिइन् ।

इन्सेकका महासचिव रुद्रबहादुर चर्मकारको संयोजकत्वमा गठन भएको तीन सदस्यीय पुरस्कार छनोट समितिले चौधरीलाई पुरस्कृत गर्न कार्यसमितिलाई सिफारिस गरेको थियो । पुरस्कार नगद रु ५० हजारसहित सम्मानपत्र प्रदान गरिने छ ।

इन्सेकका संस्थापक महासचिव स्व प्रकाश काफ्लेको २०४९ साउन १६ गते नुवाकोटको घोप्टेभिरमा थाई एयर दुर्घटनामा निधन भएको थियो । नेपालको मानव अधिकार र सामाजिक न्यायको अभियानमा उनले पु¥याएको योगदानको स्मरणलाई चिरस्थायी बनाउने उद्देश्यले इन्सेकले पुरस्कार स्थापना गरेको हो ।

नेपालको मानव अधिकार, राजनीति, शिक्षा, स्वास्थ्य तथा सामाजिकलगायतका क्षेत्रमा विशिष्ट योगदान गरेका व्यक्तित्वलाई प्रकाश स्मृति दिवसको अवसर पारेर पुरस्कार प्रदान गर्दै आइरहेको छ । अहिलेसम्म यस पुरस्कारबाट २६ जना पुरस्कृत भइसकेका छन्।

कमेन्टहरु
Loading...