पोखरा । गण्डकी प्रदेश सरकारले राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीलाई लगाइएको दोहोरो थ्रेस होल्ड हटाउने निर्णय गरेको छ ।
सरकार बनाउने समयमा गठबन्धनमा बिच भएको दोहोरो थ्रेस होल्ड हटाउने समझदारी अनुसार मन्त्रिपरिषद्ले सो निर्णय गरेको हो ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले साढे तीन वर्षदेखी कायम रहेको थ्रेस होल्ड हटाउदैं दलको मान्यता दिने निर्णय गरेको हो ।
यससंगै दुई सांसद मात्रै रहेका जसपा र जनमोर्चाका सांसदहरुले अब भने दलको नेता वा प्रमुख सचेतकको सुविधा थप प्राप्त गर्ने भएका छन्।
जसपाका दुई सांसद मध्य हरिशरण आचार्य ऊर्जा, जलश्रोत तथा खानेपानी मन्त्री रहेका छन् भने अर्की सांसद धनमाया लामा पोखरेलले अब दलको प्रमुख सचेतकको सुविधा प्राप्त गर्नेछिन् । मन्त्री बन्न नपाएपछि सामाजिक सन्जालमा तिव्र असन्तुष्टि पोख्दै आएकी पोखरेलले अब अरु सांसदको भन्दा ४ हजार रुपैयाँ मासिक बढी पारिश्रमिक निजी सचिवालय बन्दोबस्तीका लागि मासिक थप १७ सय ५० रुपैयाँ प्राप्त गर्नेछिन् ।
यस्तै एक गाडी र प्रतिमहिना ९० लिटर सवारी इन्धन , प्रत्येक ३ महिनामा ५ लिटर मोबिल सेवा थप हुनेछ ।
लामालाई प्रमुख सचेतकको रुपमा निर्णय गरेर जसपाले १ वर्षअघि नै संसदलाई बुझाएको छ ।
यसैगरि जनमोर्चा सांसद तथा संसदीय दलकी नेता पियारी थापा पनि थप सुविधा प्राप्त गर्नेछिन् । तीन सांसद रहेको जनमोर्चाले कृष्ण थापालाई कारबाही गरेपछि हाल दुई जना मात्रै सांसद छन् ।
जसमध्य खिम विक्रम शाहीले प्रदेश मामिला सभापतिको रुपमा नियुक्ती पाइसकेका छन् । उक्त नियुक्ती संगै उनले पनि गाडी र थप सेवा सुविधा प्राप्त गरिसकेका छन् ।