अभियुक्त जोगाउन खोजेकोप्रति स्वतन्त्रको आपत्ति

पत्रकार डेकेन्द्र थापाको हत्या आरोपमा पक्राउ परेका व्यक्तिहरूलाई बचाउन प्रधानमन्त्री स्वयं लागिपरेको भन्दै स्वतन्त्र पत्रकार सङ्घ नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। प्रधानमन्त्री डा. बाबुराम भट्टराईको निर्देशनमा अभियुक्तहरूको बयान लिने क्रम रोकिएकोप्रति सङ्घले आपत्ति जनाएको हो।

सङ्घका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बास्तोलाद्वारा बुधबार जारी गरिएको प्रेस विज्ञप्तिमा प्रधानमन्त्रीजस्तो साझा जिम्मेवारीको पदमा बसेको व्यक्तिले कुनै पार्टी विशेषको पक्षबाट वकालत गर्नु र कानुनी शासनको मर्यादाविपरीतरूपमा दण्डहीनतालाई प्रश्रय दिने कार्य गर्नु लज्जास्पद भएको जनाइएको छ। जुनसुकै समयमा गरिएका मानवअधिकार हननका घटना दण्डनीय अपराध भएको र अपराधीले कहिल्यै मुक्ति पाउनुहुँदैन भन्नेमा सङ्घ दृढ रहेको विज्ञप्तिमा उल्लेख छ।

यस्तै, स्वतन्त्र पत्रकार सङ्घ नेपालका केन्द्रीय सदस्य विधुर ढकालमाथि नारायणगढको लायन्सचोकमा म·लबार साँझ भएको आक्रमणप्रति पनि सङ्घले खेद व्यक्त गरेको छ। घटनाको छानविन गरी दोषीमाथि कडा कारबाही गर्न विज्ञप्तिमार्फत माग गरिएको छ।

सङ्घको कास्की जिल्ला शाखाले पनि प्रधानमन्त्रीले पत्रकार हत्यामा संलग्न अभियुक्तलाई उम्काउन खोजेको घटनाको निन्दा गरेको छ। अध्यक्ष दीपक के श्रेष्ठको अध्यक्षतामा बुधबार बसेको बैठकले दिनप्रतिदिन पत्रकारमाथि आक्रमण बढ्नु तथा सरकारको नेतृत्व गरेका जिम्मेवार व्यक्तिले प्रेस स्वतन्त्रताको खिल्ली उडाउनु नाजायज भएको ठहरसमेत गरेको छ । बैठकले तत्काल छानविन प्रक्रियालाई अगाडि बढाई दोषिमाथि कारबाही र पीडित परिवारलाई न्याय दिलाउन जोडदार माग गरेको छ।

कमेन्टहरु
Loading...