पोखरा । पोखरा महानगरपालिका भित्र आज लगाउने भनिएको खोप कार्यक्रम स्थगित गरिएको छ ।
महानगर भित्रका खोप केन्द्रमा कोरोना विरुद्धको खोप लगाउन पुगेका नागरिकहरु अन्तिम समयमा खोप नलगाउन आदेश गरेपछि आक्रोशित बनेका थिए ।
पोखरा महानगरपालिकाका वडाहरुले ५५ देखी ६२ वर्षसम्मका वृद्धहरुलाई आइतबार बिहान १० बजेदेखी साँझ ४ बजेसम्म खोप लगाउनका लागि खोप केन्द्रमा पुग्न आग्रह गर्दै सूचना जारी समेत गरेका थिए ।

महानगरपालिकाको सूचना पछि बिहानैदेखी खोप केन्द्रमा लाइन लगाएर बसेका उनीहरु स्वास्थ्यमन्त्रालयको निर्देशनमा भन्दै अन्तिम समयमा खोप नलगाइने भनेपनि आक्रोशित बनेका हुन् ।
महानगरपालिकाकाले चिनियाँ खोप भेरासेल लगाउने सूचनामा भनेको छ । तर खोप केन्द्रमा केन्द्र सरकारबाट अमेरिकी खोप जोन्सन एण्ड जोन्सन आइपुगेको थियो ।
पोखरा महानगरपालिका मेयरका प्रेस संयोजक माधव वरालले संद्यिय सरकार स्वास्थ्य मन्त्रालयको निर्देशनमा खोप लगाउने कार्यक्रम स्थगित भएको जानकारी गराएका छन् ।
‘संघीय सरकार स्वास्थ्य मन्त्रालयको निर्देशनमा आजको खोप कार्यक्रम पनि पोखरामा स्थगित भएको छ । खोप लगाउन लाइन बसेका खोप नलगाइ फर्किएका छन् ।’, उनले फेसबुकमा लेखेका छन् ।
कास्की सहायक प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेलका अनुसार स्वास्थय मन्त्रालयबाट अहिले उक्त खोप नलगाउन मन्त्रालयका सचिवले फोन गरेपछि कास्कीमा खोप अभियान रोकीएको हो ।
तर मन्त्रालयले किन खोप लगाउने कार्यक्रम रोक्यो भन्ने बारेमा प्रश्न उब्जिएको छ ।
सबै तस्बिर: नवराज सापकोटा