अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले कास्कीमा पछिल्लो ६ महिना यता ३८ वटा मानवअधिकार उल्लंघन र ज्यादतीका घटना घटेको तथ्यांक सार्वजनिक गरेको छ ।
नेपाल मानवअधिकार वर्ष पुस्तक २०२२ अर्धवार्षिक पूर्व समीक्षा कार्यक्रममा इन्सेकले सन् २०२१ जनवरीदेखी जुन महिनासम्म आफुले अभिलेख गरेका मानवअधिकार उल्लंघन र ज्यादतीका घटनाको तथ्यांक सार्वजनिक गरेको हो ।
जसमा बालिका बलात्कार ४ , बालबालिका हत्या १ , परिवारजनबाट हत्या ३ , अन्यपक्षबाट हत्या १ , महिला विरुद्ध हुने घरेलु हिंसा २२ वटा , दुव्र्यबहार २ , सार्वजनिक सम्पत्ति क्षती १ , झडप १ , विद्यालयमा कुटपिट १ र गिरफ्तारीका २ वटा घटना इन्सेकले अभिलेख गरेको छ ।
अघिल्लो वर्ष सोही अवधीमा ३३ वटा मानवअधिकार उल्लंघन र ज्यादतीका घटना इन्सेकले अभिलेख गरेको थियो ।
कार्यक्रममा बोल्दै राष्ट्रिय मानव अधिकार आयोगका गण्डकी प्रमुख चन्द्रकान्त चापागाईले मानव अधिकारको संरक्षण र प्रर्वद्धनमा नेपाल मानव अधिकार वर्ष पुस्तक प्रभावकारी बन्ने गरेको बताए ।
उनले मानव अधिकार वर्ष पुस्तकमा कोभिड १९ बाट नागरिकले स्वास्थ्य अधिकार प्रत्याभूत गर्न नसकेको विषयलाई समेटिने विश्वास व्यक्त गरे ।
शान्तिका लागि नागरिक समाजको सञ्जालका संयोजक विष्णु बरालले पछिल्ला दुई वर्षमा मानवअधिकार उल्लंघन र ज्यादतीका घटनामा कमि आएको जस्तो देखिएता पनि घरमा घरमा घट्ने घरेलु हिंसाका घटना अझै बाहिर आउन नसकेको भनाइ राखे ।
उनले स्थानिय तहका न्यायिक समितिसम्म नागरिकहरु पुग्न नसकेको बताए ।
‘न्यायिक समितिमा मानवअधिकार सम्बन्धका उजुरी नै परेको देखिदैन जनताको विश्वास भएन भन्ने कि न्यायिक समितिका बारेमा बुझाउन सकिएन’,उनले भने ।
गैरसरकारी संस्था महासंघ कास्की सचिव शारदा खत्रीले मानवअधिकार वर्ष पुस्तक देशको मानवअधिकारको चित्र सहितको महत्वपूर्ण दस्तावेज रहेको बताइन् ।
पछिल्लो समय सामाजिक सञ्जालबाट हुने हिंसाका घटना बढ्ने गरेको बताउँदै त्यस्ता घटनालाई अभिलेखिकरण गर्न आवश्यक रहेको बताइन् ।
इन्सेक गण्डकी संयोजक शिब खकुरेलले इन्सेकले नागरिकका मौलिक अधिकारका सवालमा निरन्तर आवाज उठाउँदै आइरहेको बताए ।
उनले कोभिड १९ का कारण जनताले स्वास्थ्यको अधिकार प्रत्याभूत गर्न नसकेको भन्दै राज्यको भुमिका प्रभावकारी हुन नसकेको भनाइ राखे ।