जयतु संस्कृतम्को हीरक जयन्ती मनाइँदै

नेपालको पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् को ७५ औँ अर्थात् हीरक जयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ ।

विसं २००४ असार १ गते तीनधारा पाठशालाका विद्यार्थीले संस्कृतका शास्त्रीय विषयका साथै आधुनिक अङ्ग्रेजी, गणित, विज्ञान, भूगोललगायत विषय पनि पढ्न पाउनुपर्ने माग गर्दै राणा शासकका विरुद्ध गरेको आन्दोलनको सम्झनामा जयतु संस्कृतम् दिवस मनाउने गरिन्छ ।

आधुनिक विषय अध्ययन गर्न पाउनुपर्ने माग गर्दै शुरु भएको आन्दोलन पछि जहानियाँ राणा शासनका विरुद्धमा केन्द्रित भएको थियो । राणा शासकले तीनधारा पाठशालाबाट चार पाटा मुडेर विद्यार्थीलाई उपत्यकाका नाका कटाएपछि जहानियाँ राणा शासनको विरोध गर्दै देशभर जागरण फैल्याएका थिए । यसले कुना कन्दराका जनतालाई राणा शासकका विरुद्ध सङ्गठित गरेको थियो ।

देशका विभिन्न भाग हुँदै विद्यार्थीहरु भारतको वनारस पुगे । वनारसमा राणा शासनको अन्त्य गर्न प्रवासमा रहेका नेपालीलाई गोलबद्ध गरिरहनुभएका नेपाली कांग्रेसका संस्थापक बिपी कोइरालालगायत नेतासँग जयतु संस्कृतम्का अगुवाहरु पूर्णप्रसाद ब्राह्मण, श्रीभद्र शर्मा लगायतले भेटघाट गरी प्रजातन्त्र स्थापनाको आन्दोलनमा सरिक भएका थिए । त्यसबेला असार १ गते विद्यार्थीले आन्दोलन शुरु गरेको सम्झनामा प्रत्येक वर्ष यसै दिन जयतु संस्कृतम् दिवस मनाउने गरिन्छ ।

आन्दोलनको स्वर्ण वर्षको अवसरमा विसं २०५५ मा संस्कृतका क्षेत्रमा काम गर्ने उद्देश्यले जयतु संस्कृतम्लाई संस्थागत स्वरूप दिई विधिवत् रूपमा दर्ता गरिएको थियो । त्यसै वर्षदेखि संस्थागतरूपमा जयतु संस्कृतम् दिवस मनाउन थालिएको हो । यस अवसरमा आज बिहान दरबारमार्गस्थित तीनधारा पाठशालाअघि रहेको जयतु संस्कृतम् स्तम्भमा माल्र्यापण, पुष्पगुच्छासहित विश्व शान्तिको सङ्कल्पले स्वस्ति वाचन गरिने संस्थाका अध्यक्ष डा बद्री पोखरेलले जानकारी दिए । विगत वर्षमा दिवसका अवसरमा पदयात्रा गरिन्थ्यो ।

कमेन्टहरु
Loading...