चक्रवातका कारण भारत र बंगलादेशमा ठूलो क्षति, नेपालमा पनि सतर्कता अपनाउन आग्रह

एजेन्सी । पूर्वी भारत र छिमेकी बंगलादेशमा भारी वर्षा सहितको चक्रवातका कारण लाखौं मानिस प्रभावित भएका छन् । “यास” नामको उक्त आँधीका कारण बुधबार बिहानसम्म ११ लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थलमा सारिएको अधिकारीहरुले बताएका छन् ।

प्रारम्भिक विवरणमा आँधीका कारण दुई जनाको मृत्यु भएको छ भने घरहरुमा व्यापक क्षति पुगेको छ । भारतका पूर्वी राज्यहरु पश्चिम बंगाल र उडिसामा शुरुआति प्रभाव पारेको यो आँधी उत्तरतर्फ बढ्दै गएको छ ।

भारतीय मौसम विज्ञान विभागका अनुसार वर्षा सहितको यस आँधीको सरदर गति १३० देखि १४० किलोमिटर प्रतिघण्टा रहेको छ । समुद्री किनाराबाट उक्त आँधी जमिनमा आउन थालेको र बुधबार साँझसम्म उक्त आँधीको वेग कमजोर हुँदै जाने विभागले जनाएको छ ।

बंगलादेशमा तटवर्ती २०० गाउँका हजारौं बासिन्दा आँधीको चपेटामा परेका छन् । समुद्रबाट आएका अग्लाअग्ला छालहरुले स्थानीयबासीका घर, पसल र खेतीपाती पुरै जलमग्न बनाएको छ ।
दक्षिणस्थित पटुवाखाली जिल्लाको रङ्गबाली गाउँका २० भन्दा बढी गाउँहरु पुरै डुबानमा परेको एक जना वरिष्ट प्रशासक मस्फीकर रहमानले जानकारी दिए । उनले नदीका दुई वटा तटबन्ध भत्किएर गाउँ पुरै डुबेको बताउँदै कम्तीमा १५ हजार व्यक्तिलाई आपतकालीन केन्द्रहरुमा राखिएको जानकारी गराए ।

भारतमा पनि टेलिभिजनहरुले पश्चिम बंगालको डिघा समेतका तटीय क्षेत्रका सडकहरुमा घुँडाघुँडा पानी आएको दृश्य देखाएका छन् । भारी वर्षाका कारण धेरै ठाउँमा नदीका तटबन्धहरु फुटेका छन् ।

पश्चिम बंगालका मुख्यमन्त्री ममता बनर्जीले संवाददाताहरुसँग कुरा गर्दै तटीय क्षेत्रका बासिन्दाका २० हजारभन्दा बढी अस्थायी माटाले बनाएका घर क्षतिग्रस्त भएको जानकारी दिए ।

मङ्गलबार यतामात्र उडिसाका चन्दबाली र पारादिप क्षेत्रमा १७ सेन्टीमिटरभन्दा बढी वर्षा भएको थियो । यहाँको स्थानीय मौसम कार्यालयले १३ फिटसम्मका अग्ला समुद्री छालहरु आउन सक्ने प्रक्षेपण गरेको छ ।

कोलकाता र भुवनेश्वरका विमानस्थल बन्द गरिएका छन् भने रेलसेवा रद्द गरिएको छ । माछा मार्ने डुङ्गाहरुलाई सुरक्षित स्थानमा रहन भनिएको छ ।

त्यस्तै जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बुधबारदेखि नेपालका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै प्रदेश नं १, प्रदेश नं २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षा हुने महाशाखाको बुलेटिनमा जनाइएको छ । बिहीबार कर्णाली र सुदुरपश्चिम प्रदेशको एक–दुई स्थानमा समेत भारी वर्षाको समेत सम्भावना रहेको छ । यो सिजनमा मेघगर्जन÷चट्याङ÷हावाहुरी र असिना–पानीको समेत सम्भावना रहेकाले सबैलाई आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

कमेन्टहरु
Loading...