दैनिक उपभोग्य वस्तुमा व्यापारीको मनपरी मूल्य

डोटी ।
कोरोना सङ्क्रमणका कारण डोटीमा बन्दाबन्दी शुरु भएपछि यहाँका बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि भएको छ । दाल, चामल, तेलदेखि तरकारीलगायत दैनिक उपभोग्य वस्तुहरूमा मूल्य वृद्धि भएको उपभोक्ताको आरोप छ । यहाँका प्रमुख बजार पिपल्ला, राजपुर, सिलगढी, दिपायल, विपीनगर, गोपघाट क्षेत्रमा प्रायः दैनिक उपभोग्य वस्तुको बजार मूल्य अहिले अघिल्ला महिना (निषेधाज्ञा) को तुलनामा ५० प्रतिशतसम्म बढाइएको छ । कोरोना सङ्क्रमणको समयमा बजार अनुगमन हुन नसकेका कारण व्यापारीले दैनिक उपभोग्य वस्तुमा मनपरी मूल्य लिन थालेको दिपायल सिलगढी नगरपालिका–४ गैराका कैलाश विकले बताए । उनले भने, “कोरोनाको बेला सबै बन्द छ, बजार अनुगमन गरिएको छैन, व्यापारीले मनपरी मूल्य लिन थालेकाले उपभोक्ता मारमा परे ।” उनका अनुसार ५०० एमएलको खाने तेल निषेधाज्ञाअघि रु ९० हाल रु ११० लिन थालिएको छ । त्यस्तै अन्य खाद्य सामग्रीमा पनि चर्को मूल्य वृद्धि भएको छ ।

यहाँका बजारमा विभिन्न खाद्य वस्तु तथा दैनिक उपभोग्य वस्तुमा कालोबजारी हुने गरेको पटकपटक उठ्ने भए पनि त्यसको रोकथाम तथा नियन्त्रणका लागि खासै पहल नहुने गरेको अर्का स्थानीयवासी मानबहादुर बमले बताए । उनले भने, “बन्दाबन्दीलगायत अन्य समयमा पनि बजारमा पसलै पिच्छे सामानको मूल्य फरक हुन्छ, कसैले वास्ता गर्दैन अहिले झन् कोरोनाले सबै बन्द छ, कोले अनुगमन गर्नु ।”

जिल्ला प्रशासन कार्यालय डोटीले भने यहाँका बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि भएको विषयमा कुनै पनि निकायबाट गुनासो तथा उजूरी नआएको जनाएको छ । बजार अनुगमनको जिम्मा पाएका जिल्ला प्रशासन, नगरपालिका, जिल्ला प्रहरी, उपभोक्ता अधिकार मञ्च तथा उद्योग वाणिज्य सङ्घले खासै चासो नदेखाएका कारण यहाँका बजारमा सामानको मूल्यमा व्यापारीको मनपरी हुँदै आएको उपभोक्ताको गुनासो छ ।

पछिल्लो समय यहाँका व्यवसायीले प्लास्टिकजन्य सामान, कुखुराको मासु, तेललगायत वस्तुहरूको मूल्य बढाएको राजपुरका स्थानीय होटेल व्यवसायी हर्क साउदले गुनासो गरे । उनले भने, “कोरोनाले होटेल बन्द छन्, घरका लागि सामान किन्न खोज्दा, खाद्यान्न व्यापारीले भाउ बढाएका छन्, हामीले के गरी खाने ।” व्यापारीहरूको सङ्गठन उद्योग वाणिज्य सङ्घले पनि यहाँका बजारमा अनुगमन नगरिँदा तथा मूल्य बढाउने व्यापारीलाई कारबाही नगरेका कारण झनै समस्या भएको उनको भनाइ छ ।

कमेन्टहरु
Loading...