‘नेपथ्य’ पोखरामा पहिलोपटक खुला आकाशमुनि उत्रिदै

पोखरा, १४ माघ /नेपाली लोक रक समूह ‘नेपथ्य’ले आफ्नो मूलथलो पोखरामा पहिलोपटक खुला आकाश मुनि कन्सर्ट गर्नेभएको छ । यसै सहरबाट उदाएको यो टोलीले यसअघि सभागृहमा बन्द हल भित्र मात्रै आफुलाई प्रस्तुत गर्दै आएको थियो । यसपटक भने आगामी फागुन ३ गते शनिवार प्रदर्शनी केन्द्रको मैदानमा ‘नेपथ्य’ गुञ्जिन लागेको हो ।

‘नेपथ्यका निम्ति पोखरा आयोजनास्थल मात्र नभएर प्रतिष्ठा पनि हो,’ टोलीका अगुवा गायक अमृत गुरुङ भन्छन्, ‘आफुले हेरेर हुर्केका हिमालकै सामुन्ने उभिएर गीत गाउने अवसर पहिलोपटक जुरेको छ ।’ यसरी खुला आकाश मुनि ‘नेपथ्य’लाई सुन्ने चाहना केहि वर्षदेखि नै पोखरेली संगीतप्रेमीले गर्दैआएका थिए । गत वर्ष बेलायतको वेम्बले एरेनामा सम्पन्न कन्सर्टदेखि यस टोलीलाई आफ्नै घरदैलोमा सुन्ने चाहना झनै बढ्न पुग्यो ।

‘नेपथ्य’ का अमृत गुरुङ
‘नेपथ्य’ का अमृत गुरुङ

‘नेपथ्य’ले गत महिना मात्रै ‘शान्तिको लागि शिक्षा’ अभियान आयोजना गरेको थियो । राजधानीमा आएर सम्पन्न भएको त्यो अभियानमा संभवत पहिलोपटक ‘नेपथ्य’ले सबैभन्दा ठूलो दर्शक श्रोताको उपस्थिती पाउन सफल भयो । ‘यसै क्रममा पोखरालाई पनि समेट्ने इच्छा लागेको थियो,’ गायक अमृत भन्छन्, ‘यसअघिका भन्दा अझ उत्साहजनक हिसाबले प्रस्तुत हुन हामीले तयारी सुरुगरिसकेका छौं ।’ आयोजक ‘नेपालय’का अनुसार यो खुला कन्सर्ट ‘शान्तिको लागि शिक्षा’कै निरन्तरताका रुपमा प्रस्तुत हुनेछ ।

‘नेपथ्यलाई उसको पोखरासँग जोड्न अघिल्लो साता देखि यस सहरमा सुरु भएको राष्ट्रिय औद्योगिक व्यापार मेलामा समेत हामीले बेग्लै स्टल राखेका छौ,’ नेपालयका टोली प्रमुख किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘नेपथ्यको साँगीतिक यात्राबारे झलक प्रस्तुत गर्ने उक्त स्टलबाटै टिकट विक्री पनि सुरु भइसकेको छ ।’ सन् २००० देखि २०१४ सम्मै ‘शान्तिको लागि शिक्षा’ र ‘सुन्दर शान्त नेपाल’ गरेर दुईवटा अभियानमा ‘नेपथ्य’ले आफुलाई पटक पटक मुलुकभर प्रस्तुत गर्दै आएको छ । पोखराको प्रस्तुती पनि त्यसैको निरन्तरता हो ।

कमेन्टहरु
Loading...