सेतीको किनारमा रोगको भन्दा भोकको चिन्ता

  • सौगात पोखरेल

दोस्रो चरणको कोरोना संक्रमण बढेसँगै कास्की जिल्ला प्रशासनले निषेधाज्ञा जारी गरेको छ । पोखरा मुख्य सडकहरु सुनसान छन् । मुख्य बजारहरुमा सटर बन्द छ । बजारमा बाहिर निस्कनेहरुको संख्या साह्रै नगन्य मात्रामा छ । शहरमा सन्नाटा छाएको छ ।


रोगसँगै भोकको चिन्ताले सताएर सेतीको किनारामा बालुवा छान्नेहरुको दैनिकीमा भने लकडाउनले कुनै असर पारेको छैन । बिहान कमाएर बेलुकी छाकटार्ने मजदुरहरु बैशाख मासको चर्को घाममा पसिना बगाउँदै बालुवा चालिरहेका छन् । करिब ३० बर्षदेखि सेतीमा बालुवा चालेर जिवन गुजारा गरिरहेका साहिला गुरुङ हामी रामघाटमा पुग्दा सावेलले बालुवा चालिरहेका थिए । जन्मथलो धादिङबाट कामका लागि पोखरा आएका गुरुङले तीसबर्ष सेती नदीसँग पौठेजोरी खेलेर नै बित्यो । अहिले लकडाउन भए पनि उनी भरेको खानाको जोहोको लागि बालुवा चालिरहेछन् । उनी भन्छन्–‘हामी त काम भएन भने त मर्छ नि बाबु , खै सुन्न त सुनेको हो के रोग आको छ रे ? हामीलाई त रोगको भन्दा पेटको चिन्ता छ । ’ यो उमेरमा पनि उनी दैनिक १५ डोको बालुवा बोक्छन् ।


रामघाटकै अर्को छेउमा हेटौडाबाट पोखरा कामका लागि आएका कान्छी माया तामाङका श्रीमान श्रीमती बालुवा खोस्रिरहेका थिए । लकडाउन भए पनि बाँच्नुपर्ने बाध्यता भएकाले रामघाटमा बालुवा चाल्न आउन परेको तामाङ्ग दम्पतीले बताए । कान्छीमाया तामाङ्ग भन्छीन –‘आफु त नखाए नि होला तर घर दुई बच्चाहरु छन् । उनीहरुको लागि पनि काममा आउन पर्यो । लकडाउन भनेर घरबेटीले भाडा छाड्दैन केरे ।गरिखाने मान्छेलाई त काम गर्न दिए हुने हो । ’ तामाङका अनुसार ठेकदारले उनीहरुलाई एक टिप बालुवा पुर्याए बापट तीन हजार रुपया दिन्छन् । उनीहरुले दैनिक हजार पन्ध्रसय बालुवा चालेर नै कमाउँछन । तामाङ्गका अनुसार लकडाउनको कारण सेतीमा बालुवा चाल्नेहरुको संख्यामा धेरै कमि आएको छ । अहिले करिव दुई सय मजदुर मात्र काममा छन् ।
त्यस्तै सिन्धुलीबाट करिब एक दशक अघि पोखरा आएका मानबहादुर खड्का पनि करिव दश बर्ष देखि रामघाटमा बालुवा चालिरहेका छन् । खड्काले बालुवा चालेर पठाएको पैसाले नै उनको घर चल्छ । पोहोरको लकडाउनमा घर गएका खड्का यो पटक भने रहर हुँदाहुँदै पनि घर जान सकेनन् । उनीसँग न घर जानका लागि पैसा नै थियो न त पुरानो हिसाव नै मिलाउन सक्ने अवस्था थियो । पैसाकै अभावको कारण लकडाउनको समयमा पनि बालुवा चाल्न परेको खड्का बताउछन् । ‘हामीलाई पनि रोगको महामारी आएको भन्ने त थाह छ सर तर खानका लागि काम त गर्नै पर्यो । पैसा नभएर घर जान पाईएन । ’
सेतीमा बालुवा चाल्ने गुरुङ,तामाङ्ग र खड्का जस्तै करिब दुई सय मजदुरहरु रोगको भन्दा पनि भोकको चिन्ताले काम गर्न बिवस छन् । सरकारले भनेजस्तो सामाजिक दुरी कायम गर्दै ति मजदुरहरुलाई काम गर्ने बातावरण तयार भयो भने मजदुरको पेटमा लात पर्ने थिएन ।

कमेन्टहरु
Loading...