कोरोना संक्रमणका कारण थप ९ जनाको मृत्यु

काठमाडौं ।

कोरोना संक्रमणका कारण धनगढीमा ४ जना र बाकेमा ५ जना गरि थप ९ जनाको ज्यान गएको छ । संक्रमणबाट धनगढीमा मृत्यु हुनेमा लम्कीचुहा नगरपालिका –१ का ३८ वर्षीय पुरुष र लम्किचुहा –१० की ३५ वर्षीया महिला छन् । ती पुरुषको आज बिहान साढे १ बजे र महिलाको बिहान साढे ४ बजेको समयमा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए ।

त्यस्तै धनगढी उपमहानगरपालिका –२ का ४३ वर्षीय सङ्क्रमित पुरुषको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा अज बिहान ५ बजेका समयमा मृत्यु भएको जोशीले जानकारी दिए । सेतीमै उपचाररत कञ्चनपुरको भीमदत्त नगरपालिका– ७ का ६२ वर्षीय पुरुषको पनि मृत्यु भएको बताइएको छ ।

त्यस्तै नेपालगञ्जस्थित भेरी अस्पतालमा तीन र शिक्षण अस्पताल कोहलपुरमा दुई गरी पाँच जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।

उनका अनुसार भेरी अस्पताल नेपालगञ्जमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका–३ निवासी ५१ वर्षीय पुरुषको आज बिहान ३ः३० बजे, नेपालगञ्ज–१ निवासी ६६ वर्षीय पुरुषको ४ः०० बजे र बढैयाताल गाउँपालिका–८ बर्दिया निवासी ४७ वर्षीय पुरुषको आज बिहान ६ः३० बजे मृत्यु भएको हो ।

यसैगरी शिक्षण अस्पताल कोहलपुरमा नेपालगञ्ज–५ निवासी ४८ वर्षीय पुरुषको गए राति ९ः३० र बैजनाथ गाउँपालिका–८ निवासी ६० वर्षीया महिलाको आज बिहान १ः२० बजे मृत्यु भएको थियो । योसँगै बाँकेका १३३ र बाहिरी जिल्लाबाट यहाँ उपचार गराउन आएका १२२ जनाको मृत्यु भएको स्रोत व्यक्ति वलीले जानकारी दिए ।

कमेन्टहरु
Loading...