कोरोना सङ्क्रमण रोकथामका ओखलढु्ङ्गा जिल्लामा आवश्यक पूर्वतयारी पर्याप्त नभएको पाइएको छ । महामारीका रूपमा फैलिएको कोरोना सङ्क्रमण दिनानुदिन बढिरहेको भए पनि जिल्लामा सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि पूर्वतयारी पर्याप्त नभएको पाइएको हो ।
शहरमा निशेधाज्ञा शुरु भएपछि हजारौँ मानिस जिल्ला भित्रिएका छन् । नवप्रवेशीको सामान्य स्वास्थ्य परीक्षण गरिएको छैन भने बाहिरबाट आएका क्वारेन्टिनमा समेत बसेका छैनन् । कोभिड नियन्त्रणका लागि गत वर्ष स्थापना गरिएका सबै संरचना बन्द भएका छन् । कोरोनाको कहर शुरु भएसँगै स्थानीय तहले लाखौँ रुपैयाँ खर्च गरेर तयार गरेका आइसोलेशन, क्वारेन्टिन र हेल्थ डेस्कसहितका संरचना अहिले बन्द भएका हुन् ।
कोरोना महामारी रोकथामका लागि जिल्ला प्रवेश गर्ने सबैजसो मुख्य नाका र सदरमुकामसहितका क्षेत्रमा हेल्थ डेस्क, सबै स्थानीय तहमा आइसोलेशन, वडावडामा क्वारेन्टिन, जिल्लाका दर्जनौँ स्थानमा हेल्थ डेस्क सञ्चालनमा थिए । तर अहिले ती सबै संरचना सञ्चालनमा छैनन् ।
कोभिडको सङ्क्रमण केही कम भएको समयमा सबै संरचना हटाइएको थियो । ती संरचनाका सामग्रीसमेत पुनः प्रयोगको अवस्थामा नरहेको पाइएको छ । विद्यालयमा राखिएका क्वारेन्टिन र ठाउँठाउँमा राखिएका हेल्थ डेस्कका सामान सुरक्षित नराखेका कारण अहिले कोरोनाको जोखिम बढिरहेको अवस्थामा पहिलेको जत्तिकै पूर्वतयारी अपनाइहाल्न सक्ने अवस्था नरहेको देखिएको छ ।
जिल्लाको एक मात्र नगरपालिका सिद्धिचरण नगरपालिकाले गत वर्ष दुई लाख १८ हजार ७३२ खर्च गरेर क्वारेन्टिन निर्माण गरेको थियो । हेल्थ डेस्क सञ्चालनमा समेत नगरपालिकाले लाखौँ रकम खर्च गरेको थियो । अहिले कार्यालय परिसरको हेल्थ डेस्कबाहेक कुनै संरचना पुनः सञ्चालनमा आउन सकेका छैनन् । कार्यालयमा हेल्थ डेस्क पूर्ववत् अवस्थामा सदरमुकामको रमाइलोडाँडा र मिलनचोकमा रहेको हेल्थ डेस्क सञ्चालनमा नरहेको नगरपालिकाका जनस्वास्थ अधिकृत पवनकुमार लामाले बताए । महामारीको जोखिम बढ्दै जाँदा हेल्थ डेस्कहरू राख्नेबारे नगरपालिकामा छलफल हुने उनको भनाइ छ ।
जिल्लाको मानेभञ्ज्याङ गाउँपालिकाले गत वर्ष रु दुई लाख ९१ हजार ८५० खर्च गरेर हेल्थ डेस्क र क्वारेन्टिन निर्माण गरेको थियो । हाल कुनै संरचना सञ्चालनमा छैनन् । माथिल्लो सगरमाथा क्षेत्रका तीन जिल्ला सोलुखुम्बु, ओखलढुङ्गा र खोटाङको प्रवेशद्वारमा पर्ने टोक्सेल हर्कपुरमा नवप्रवेशीहरूको स्वास्थ्य जाँचका लागि हेल्थ डेस्क राखिएको भए पनि अहिले त्यो सञ्चालनमा नरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेशकुमार शाहले बताए । “अहिले यहाँ सङ्क्रमणको जोखिम पनि खासै छैन । हामीले हेल्थ डेस्क शुरु गरिसकेका छैनौँ । जोखिम बढ्यो भने आवश्यक तयारी अपनाउने योजना छ”, उनले भने, “विश्वमा महामारीका रूपमा फैलिएको सङ्क्रमण रोक्न सरकारको प्रयासले मात्रै नपुग्न सक्छ, त्यसैले सबैले सतर्कतामा जोड दिनुपर्छ । हामी मानेभञ्ज्याङलाई सङ्क्रमणबाट बचाउन सक्दो प्रयास गर्छौँ”, कतिपय पुराना सामग्री मौज्दात रहेकाले पूर्वतयारीका लागि सहज हुने उनको भनाइ छ ।
क्वारेन्टिन निर्माणमा मात्रै रु सात लाख ८९ हजार ९१ खर्च गरेको खिजीदेम्बा गाउँपालिकामा पनि कुनै संरचना सञ्चालनमा छैनन् । केही पुराना सामग्री मौज्दात रहेकाले जोखिम बढेको अवस्थामा पुनः सुरक्षा सतर्कताका संरचना निर्माण गरेर सेवा दिन सकिने अवस्था रहेको प्रमुख प्रशासकीय अधिकृत सुवास पौडेलको भनाइ छ । “गत वर्ष नै हामीले दीर्घकालीनरूपमा काम लाग्ने सामग्री खरिद गरेर राखेका छौँ । विगतमा जस्तो समस्या हुँदैन, आवश्यक परे तत्काल आइसोलेशन, क्वारेन्टिन बनाउन सकिन्छ”, पौडेलले भने, “कोभिड अस्पताल, ल्याबसहितका अन्य संरचना पनि थप गरेका छौँ, त्यसैले हाम्रो पालिकामा पूर्वतयारीका अन्य विकल्प अपनाउन समय लाग्दैन ।” अधिकांश विद्यालयमा क्वारेन्टिन राखिएकाले पठनपाठन शुरु गर्दा सबै हटाउनुपरेकाले निरन्तर तयारी अवस्थामा राख्न समस्या भएको उनको भनाइ छ ।
जिल्लाको मोलुङ गाउँपालिकाले रु पाँच लाख ६८ हजार ६५२, लिखु गाउँपालिकाले रु एक लाख ४२ हजार ८७५, त्यस्तै चिसङ्खुगढी गाउँपालिकाले सामग्री खरिद तथा क्वारेन्टिन व्यवस्थापनमा रु छ लाख ६४ हजार ४२० क्वारेन्टिन निर्माण तथा व्यवस्थापनमा खर्च गरेको विवरण सार्वजनिक गरेका थिए । सुनकोशी र चम्पादेवी गाउँपालिकाले पनि क्वारेन्टिन निर्माण गरेको भए पनि दुवै स्थानीय तहले खर्च विवरण सार्वजनिक गरेनन् । क्वारेन्टिन निर्माणमा लाखौँ खर्च गरेको भए पनि कुनै पनि स्थानीय तहमा अहिले ती संरचनाहरू प्रयोगमा छैनन् ।
– पूर्णप्रसाद न्यौपाने, ओखलढु्ङ्गा (रासस)