काठमाडौं । कोरोना भाइरस संक्रमणबाट हाल भारत बेहाल भएको छ ।
उपचार तथा अस्पतालमा बेडको अभाव तथा विशेष गरेर त्यहाँ अक्सिजनको कमीले गर्दा कयौंले ज्यान गुमाइरहेका छन् । यस्तैमा नेपालमा समेत संक्रमणको दर वृद्धि भइरहँदा अक्सिजनको कमी हुने हो कि भन्ने आम जनमानसको सोचाई छ ।
तर नेपालमा अक्सिजनको कमी नहुने सरकारले स्पष्ट पारेको छ । हिजो बसेको मन्त्रिरिषद्को बैठकले नेपालमा अक्सिजनको कमी नहुने सरकारले स्पष्ट पारेको हो । अक्सिजन प्लान्टबाट उत्पादित २० प्रतिशतमात्र अक्सिजन नेपालमा खपत भइरहेको सरकारले दावी गरेको छ ।
नेपालमा हाल भएको अक्सिजन प्लान्टलाई पूर्ण क्षमतामा चलाउन सकेको अवस्थामा यहाँका अस्पतालमा अक्सिजनको कुनै कमी नहुने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेश ठगुन्नाले जानकारी दिएका छन् ।
मन्त्री ठगुन्नाका अनुसार अक्सिजनको कमी नभए पनि सिलिण्डरको कमी हुने सम्भावना भएको र ५० हजार सिलिण्डर तत्काल ल्याउने निर्णय सरकारले गरेको उनको भनाई छ । मन्त्रिपरिषद्को बैठकबाट २० हजार अक्सिजन सिलिण्डर फास्ट ट्रयाकको विधिबाट ल्याउने निर्णय गरिएको उनले बताए । स्वास्थ्य मन्त्रालयलाई समेत अक्सिजनको सिलिण्डरका लागि निर्देशन दिइसकिएको उनले जानकारी दिएका छन् ।