‘सरल, शालीन र सादगी जीवन मनमोहनका गुण’

काठमाडौं । प्रथम जननिर्वाचित कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीको २२ औं स्मृति दिवसका अवसरमा आज ललितपुरस्थित मनमोहन स्मृति प्रतिष्ठानमा श्रद्धाञ्जली व्यक्त गरिएको छ ।

उपप्रधानमन्त्री एवं नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेललगायतले सो स्थानमा पुगी पार्टीका तत्कालीन अध्यक्षप्रति श्रद्धाञ्जली व्यक्त गरे । कोभिड–१९ को महामारीका कारण उनको स्मृतिमा थप कार्यक्रम आयोजना गरिएको छैन ।

सो प्रतिष्ठानका अध्यक्ष पोखरेलले नेता अधिकारीले स्थापना गर्नुभएका आदर्श, सिद्वान्त र मूल्यमान्यता कम्युनिष्ट पार्टीका हरेक सदस्यका लागि आज पनि उत्तिकै अनुकरणीय र सान्दर्भिक रहेको बताएका छन् । ‘सरल, शालीन र सादगी जीवन नेपालको कम्युनिष्ट आन्दोलनमा उहाँले स्थापित गर्नुभएका अत्यन्तै मूल्यवान गुणहरु हुन् ।’ उपप्रधानमन्त्री पोखरेलद्वारा आज जारी गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ ।

नेता अधिकारीले नेपालको विभाजित कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउन महत्वपूर्ण अभिभावकीय भूमिका खेल्नुभएको जनाउँदै पोखरेलले भनेका छन्, ‘आजको यस विशेष दिनले नेकपा (एमाले)का सम्पूर्ण नेता–कार्यकर्तालाई एकढिक्का भई पार्टी काममा सक्रिय रहन ऊर्जा प्रदान गरोस् भन्ने कामना गर्न चाहन्छु ।’

विसं २०५१ मा प्रधानमन्त्री निर्वाचित अधिकारी नेतृत्वको लोकप्रिय सरकारकै जगमा एमाले र कम्युनिस्ट आन्दोलनले विशाल रुप लिएको थियो । तत्कालीन सरकारका लोकप्रिय कार्यक्रम अहिले पनि जनताले उत्साहका साथ स्मरण गरिरहेका छन् । ‘उहाँको नेतृत्वको तत्कालीन सरकारको प्रमुख राजनीतिक सल्लाहकारका रुपमा काम गर्दाको त्यो क्षण मेरा लागि पनि सदैव गौरवान्वित छन् ।’ पोखरेलको विज्ञप्तिमा भनिएको छ । पूर्वप्रधानमन्त्री अधिकारीको २०५६ साल आजकै दिन निधन भएको थियो । रासस

कमेन्टहरु
Loading...