काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको रोकथामका लागि सबैेले भूमिका नखेले या संक्रमणको चक्र नरोकिएको अवस्थामा नेपालमा भयानक अवस्था आउन सक्ने चेतावनी दिएको छ ।
मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै कोरोना भाइरस संक्रमणको चक्र नरोकिएको अवस्थमा मुलुकमा रहेका अस्पतालले बिरामीको चाप धान्न नसक्ने र उपचार गर्न सम्भव नहुने भन्दै चेतावनी दिएको हो ।
मन्त्रालयले सरकारले बारम्बार स्वास्थ्य सम्बन्धी मापदण्ड लागू गर्न अनुरोध गरिरहेदाँ समेत अटेर गर्ने कार्य भइरहेको बताउँदै कोरोना रोकथामका लागि भूमिका खेल्न नसकेको बताएको छ । ‘विश्वव्यापी महामारीका रुपमा रहेको कोभिड १९ ले हाल छिमेकी देशहरुमा स्वास्थ्य सेवा प्रवाह प्रणाली समेत तहन्सनहस पारी नियमित स्वास्थय सेवा उपलब्ध गराउन र कोभिड १९ को संक्रमितलाई अस्पतालमा राखेर हेरचाह गर्न नसकिएको हृदयविदारक घटना हाम्रै आँखा अगाडि देखिरहेका छौं ।’ मन्त्रालयका सहप्रवक्ता डा.समीर अधिकारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यो महामारीले हाम्रै देशका विभिन्न स्थानमा समेत उस्तै किसिमका दुखद अवस्था आइसकेको देख्दादेख्दै पनि हामी सबैले संक्रमण रोकथाम गर्न सक्ने भूमिका निर्वाह गरेका छैनौं ।’
नोपलमा पछिल्लो समय फेरी पनि कोरोना भाइरस संक्रमणको दर सोचेभन्दा धेरै वृद्धि भएको भन्दै मन्त्रालयले कुनै पनि भीडभाड हुने स्थान तथा सार्वजनिक कार्यक्रममा सहभागी नहुन आग्रह गरेको छ ।
विश्वमा प्रभावकारी हुने गरेर खोप नआएको तथा औषधी समेत उपलब्ध नभएको बताउँदै मन्त्रालयले कोरोना भाइरस संक्रमणको रोकथामका लागि सरकारले तय गरेको विभिन्न स्वास्थ्य सम्बधी मापदण्ड बाहेक अन्य उपाए नभएको समेत स्पष्ट पारेको छ । सबै वर्ग तथा उमेर समुहका व्यक्तिलाई कोरोना भाइरस संक्रमण भइरहेको भन्दै मन्त्रालयले सर्तक रहन भनेको छ ।