पदयात्रा पर्यटनसँग जोडिँदै छ पोखराबाट नजिकै रहेको भुम्दी टुनार घरबास

पोखरा । पर्यटकीय नगरी पोखराबाट नजिकै रहेको पोखरा महानगरपालिका–२२ स्थित भुम्दीका स्थानीयवासी घरबासका माध्यमबाट यहाँको गाउँलाई पर्यटकमाझ पु¥याउने लक्ष्यका साथ क्रियाशील छन् । भुम्दी टुनार घरबास (होमस्टे) का नाममा संगठित बन्दै यहाँका ११ वटा घरमा विगत १ वर्षयता घरबास सञ्चालनमा ल्याइएको छ । प्रकृति र संस्कृतिका विविधतालाई पर्यटक माझ लैजाने दीर्घकालीन सोचका साथ घरबास सञ्चालनमा ल्याइएको अध्यक्ष नानीमाया गुरुङले जानकारी दिएका छन् ।

गत वर्षदेखि घरबास सञ्चालनमा ल्याएसँगै पर्यटकको आकर्षण बढिरहेका अवस्थामा एकाएक विश्वव्यापी फैलिएको कोरोनाको प्रकोप र त्यसँगै गरिएको बन्दाबन्दीले आफूहरूको जागरुकतालाई प्रभावित बनाएको उनले बताए । समुद्री सतहबाट ८ सय मिटर उचाइमा रहेको यस ठाउँबाट माछापुच्छ«े, अन्नपूर्णलगायतका मनमोहक हिमाली दृश्य एकसाथ अवलोकन गर्न सकिन्छ ।

गाउँको शीरमा रहेको रामलक्ष्मण थान यहाँको अर्को धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै गएको होमस्टेकी सदस्य एवं भुम्दी टुनार आमा समूहकी अध्यक्ष राधा गुरुङले जानकारी दिएकी छिन् । उनका अनुसार यस तीर्थस्थलमा प्रत्येक वर्षको आश्विन शुक्ल पक्ष (बडा दसैं) र चैत्र शुक्ल पक्ष (चैते दसैं) का अवसरमा नवमी तिथिमा विशेष पूजाआजा हुन्छ । उक्त दिनमा कुखुराको बलि दिने गरिएको उनले जानकारी दिइन् । उक्त दिनमा रामलक्ष्मणको थानमा शिकार खेल्नुपर्छ भन्ने प्राचीन संस्कृति यहाँको अर्को मौलिकता हो ।

उक्त दिनमा शिकार खेल्नैपर्छ भन्ने प्राचीन मान्यताका कारण स्थानीयवासी जम्मा भएर शिकार खेले झँै गरी हाहाहुहु गर्दै परम्परालाई धान्दै आएको उनले बताएकी छिन् । घरबासमा आउने पर्यटकलाई आफूहरूले यामअनुसारको गाउँमा नै उत्पादित प्रांगारिक तरकारीका साथै विभिन्न परिकार खुवाउने गरेको उनले जानकारी दिएकी छिन् ।

गाउँमा विभिन्न जातजातिका २७ घरमध्ये ११ वटाले घरबास सञ्चालन गरेको जानकारी दिँदै उनले होमस्टे सञ्चालन नगर्नेले पनि पर्यटकका लागि आवश्यकपर्ने कृषिजन्य उत्पादन तयार गरी लाभान्वित हुने गरेको बताइन् । हिमाली तथा पहाडी दृश्यावलोनको आकर्षक गन्तव्यका रुपमा रहेको यो ठाउँ पञ्चासे पदमार्गमा पर्ने ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघका अध्यक्ष सुशीलराज पौडेलले बताए । पञ्चासे पदमार्गमा जानेका लागि यस स्थानमा विगतमा घरबास सञ्चालन नभएका कारण क्याम्पिङ गर्नुपर्ने बाध्यता रहेको बताउँदै उनले घरबास भएसँगै पदयात्रीका लागि निकै सहज बनेको बताएका छन् ।

३/४ दिनसम्म गर्न सकिने पञ्चासे पदयात्राका साथै पोखराबाट एकदिने हाइकिङका लागि पनि भुम्दी टुनार होमस्टे सहयोगी बन्ने पौडेलको भनाई छ । उनका अनुसार एकदिने हाइकिङमा जान चाहनेले पामेबाट चापाकोट हुँदै भुम्दी, उल्लेरी हुँदै भुम्दी, ड्यामसाइड हुँदै भुम्दीका साथै खाडेखोलाबाट भुम्दीसम्मको एकदिने हाइकिङ गर्न सक्दछन् । भुम्दी टुनार घरबासलाई पदयात्रा पर्यटनसँग जोड्ने आफूहरूको लक्ष्य रहेको उनले बताए । पदयात्राका लागि आउने पर्यटकले रुचाउने प्रांगारिक कृषिजन्य उत्पादनमा यहाँका स्थानीयले जोड दिएको हिमालयन भ्यू टि हाउसका सञ्चालक यामबहादुर गुरुङ (माइला दाइ) ले बताए ।

विगतमा क्याम्पिङ गरी बस्न आउने पदयात्री पर्यटकलाई लक्षित गर्दै २२ वर्षअघिदेखि आफूले यहाँस्थित पैयम चौतारामा चियापसल सञ्चालन गर्दै आएको जानकारी दिँदै उनले पछिल्ला ८ वर्षयता २२ जनासम्म पर्यटक राख्न सक्नेगरी आवासीय कोठा समेत निर्माण गरेको बताएका छन् । लामो समयसम्म देशमा चलेको सशस्त्र द्वन्द्वका साथै कोरोना महामारी लगायतले पदयात्रा पर्यटनमा प्रत्यक्ष प्रभाव पारेको उनको अनुभव छ । पदयात्रा पर्यटनसँग भुम्दी गाउँलाई जोड्दै यहाँको समग्र विकासमा योगदान गर्न सकिने उनले बताएका छन् । भुम्दी टुनार घरबासलाई पदयात्रा पर्यटनसँग जोड्ने लक्ष्यका साथ टान पश्चिमाञ्चल क्षेत्रीय संघको आयोजनामा विश्वपृथ्वी दिवसका अवसरमा हालै १ दिवशीय हाइकिङ गरिएको संघका प्रथम उपाध्यक्ष धर्मराज पन्थीले बताएका छन् ।

उनका अनुसार नेपाल पर्यटन बोर्डको प्रवद्र्धन एवं पोखरा महानगरपालिका वडा नम्बर २२ को सहयोगमा आयोजित हाइकिङमा पदयात्रा पर्यटन सम्बद्ध व्यवसायी एवं सञ्चारकर्मीसहित ४५ जनाको सहभागिता थियो । रासस

कमेन्टहरु
Loading...