काठमाडौं । २०७२ सालको विनाशकारी भुकम्पबाट ध्वस्त भएको काठमाडौंको धरहरा फेरी उभिएको छ ।
भोलि बिहान ११ बजे उक्त धरहराको उद्घाटन प्रधानमन्त्री तथा नेकपा एमालेका अधयक्ष केपी शर्मा ओलीले गर्दै छन् । ऐतिहासिक धरहराको काम यतिबेला तीव्र गतिमा भइरहेको छ भने काम पनि अन्तिम चरणमा पुगेको छ ।
धरहरा टावरको पुनःनिर्माण कार्य अन्तिम चरणमा पुगेको र सरसफाई तथा रङ लगाउने कार्य भइरहेको रमन कन्स्ट्रक्सनको आयोजना व्यवस्थापक श्यामचन्द्र श्रेष्ठले जानकारी दिएका छन् । रङरोगन तथा सरसफाई कार्य समेत आज बेलुकासम्म सम्पन्न हुने श्रेष्ठको भनाई छ ।
श्रेष्ठका अनुसार धरहराको काम सक्न हाल २४ सै घण्टा काम जारी छ । पुननिर्माण भइरहेको धरहरामा ३ सय ३० किलोको गजुर राखिसकिएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका अनुसार तामाबाट बनेको गजुरको बाहिरी आवरणमा सुनको लेपन लगाइएको छ ।
धरहराको उद्घाटन प्रधानमन्त्री ओलीले भोलि बिहान गर्ने भए पनि सर्वसाधारणका लागि भने मंसिरबाट मात्रै खुल्ने छ । निर्माणाधीन अवस्थामा रहेको धरहराको केही संरचना सम्पन्न नभएकाले सर्वासधारणका लागि मंसिरबाट मात्रै खुला गर्ने योजना रहेको आयोजना व्यवस्थापक श्रेष्ठले जानकारी दिएका छन् ।
योभन्दा अगाडि कोरोना भाइरस संक्रमणका कारण नेपालमा घोषणा भएको लकडाउन, दसैं, तिहार जस्ता अन्य समयमा समेत रातको समयमा पनि धरहरा निर्माण कार्यलाई तीव्रता दिइएको थियो । हाल निर्माण भएको धरहरा पहिलेकै शैलीमा बनेको छ ।
निर्माण कम्पनीका अनुसार २२ तला बनाइएको या धरहरा पुरानै शैलीको भए पनि नयाँ प्रविधिका साथ बनेको हो ।