पोखरा । प्रति जग्गा अतिक्रमण गर्दै पर्खाल निर्माण र आगो लगाएर बुट्यान नष्ट गरिएको छ । पोखरा वडा नं १८ स्थित खपौंदीको अलैचे ढाँडमा ७ रोपनी प्रति जग्गा अतिक्रमण गर्दै चन्द्रबहादुर गुरुङले पर्खाल लगाएका हुन् । गुरुङले प्रति जग्गामा पर्खाल लगाएपछि जग्गा संरक्षणमा पोखरा महानगरपालिका वडा नं १८ का वडाध्यक्ष र स्थानीय जुटेका छन् ।
बुधबार वडाध्यक्ष र स्थानीय सहितको टोलीले उक्त जग्गामा बनाइएको पर्खाल भत्काइदिएका हुन् । यसअघि वडाध्यक्ष, स्थानीय टोली र नगर प्रहरीले बारम्बार प्रति जग्गामा संरचना नबनाउन आग्रह गरेका थिए ।
तर वडाध्यक्षको आग्रहलाई अटेर गर्दै चन्द्रबहादुर गुरुङले उक्त स्थानमा पर्खाल लगाए । केहीदिन अगाडि मात्र उनले उक्त स्थानमा संरचना निर्माण गर्न आगो लगाएर बुट्यान नष्ट पारेको वडाध्यक्ष रणबहादुर थापाले जानकारी दिए । वडाध्यक्षका अनुसार गुरुङले अलैचे ढाँडमा रहेको ५६८ कित्ता नम्बरको ७ रोपनी जग्गा अतिक्रमण गरेर आगो लगाएका हुन् । ‘बारम्बार ताकेता गर्दा समेत नमानी अहिले वन फडानी नै गरेर बुट्यान समेत नष्ट भएछ ।’ उनले भने, ‘पर्खाल लगाउने बेलैमा भनेका हौं, जग्गा सरकारको नाममा छ ।’
गुरुङलाई बारम्बार सचेत गराउँदै समेत उनले अटेर गरेको वडाध्यक्षको भनाई छ । ‘पर्खाल लगाउँदै गर्दा सरकारको प्रति जग्गा हो, काम नगर्नुस् भन्दा अटेर गरेपछि नगर प्रहरी समेत आएको थियो । केही समयपछि काम रोकियो तर अहिले त वनै डडाउनु भएछ ।’ वडाध्यक्षले भने । थापाले यसरी जग्गा अतिक्रमण गरेर रुखमा आगो लगाउनेलाई कानुन बमोजिम सजाय हुने बताएका छन् । काटिएका सिमल, प्रति बुट्यानको टिप्णिी उठाएर आवश्यक कानुन कारवाही गरिने उनको भनाई छ ।
त्यस्तै फेवा पर्यटन विकास समितिका अध्यक्ष रामकुमार राईले सरकारको जग्गामा आँखा लगाएर व्यक्तिगत संरचना निर्माण गर्न नमिल्ने बताए । चन्द्रबहादुर गुरुङले प्रति जग्गा हड्पनकै लागि आगो लगाएर बुट्यान नष्ट गरेको आरोप लगाउँछन् । ‘पहिले प्रति जग्गा भएको नजिकै ७ रोपनी जग्गा किनेर अरुलाई बेचे ।’ उनले भने, ‘आफूले ४ आना मात्र जग्गा राखेर प्रति जग्गामा आँखा लगाउने काम गरे ।’
स्थानीयका अनुसार गुरुङलाई आफूहरुले समेत पटकपटक सरकारी जग्गामा संरचना निर्माण नगर्न आग्रह गरेका थिए । ढकालथर टोल विकास संस्थाका अध्यक्ष समेत रहेका स्थानीय रामजी बहादुर ढकालले वन राख्ने भनिएको प्रति जग्गा व्यक्तिको नभई सरकारको हातमा हुनुपर्ने बताए । यता चन्द्र बहादुर गुरुङले भने आफ्नो जग्गामा पर्खाल लगाएको दावी गरेका छन् । ‘करिब २० वर्ष अगाडि मैले त्यो जग्गा किनेको थिएँ ।’ उनले भने, ‘त्यसकै आधारमा मैले पर्खाल निर्माण गरेको हो ।’