पोखरा । गण्डकी प्रदेश सामाजिक विकास मन्त्री नरदेवी पुन मगरले गण्डकी प्रदेशलाई खेलकुदको अग्रणी प्रदेशको रुपमा उभ्याउन नवगठित प्रदेश खेलकुद परिषद् र जिल्ला खेलकुद नेतृत्व सफल हुने विश्वास व्यक्त गरेकी छिन् । मन्त्रालयमा बिहिबार आयोजित गण्डकी प्रदेश खेलकुद परिषदका सदस्यहरु र जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तथा पदाधिकारीलाई मनोनयनपत्र वितरण तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दै मन्त्री पुनले उक्त कुरा बताएकी हुन् । सो अवसरमा मन्त्री पुनले भनिन्, ‘आफूलाई प्राप्त जिम्मेवारीको बोध गर्दै अघि बढ्न तथा धेरैभन्दा धेरै नागरिकलाई खेलकुदमा आवद्ध गराउन सकेमात्रै सफलता प्राप्त गर्न सक्ने छौं ।’
प्रदेश खेलकुदको अध्यक्ष समेत रहेकी मन्त्री पुनले प्रदेश सरकारले अगाडि सारेका २ महत्वपूर्ण परियोजना मध्ये हाई अल्टिच्यूड रंगशालाको निर्माण र गल्फ कोर्षका लागि खेलकुद परिषदले पूर्णता दिनेमा आफू विश्वस्त रहेको बताउँदै भनिन्, ‘नैतिक चरित्र र आर्थिक पारदर्शिता भयो भने मात्रै समाजले खेलकुदलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउने भएकोले त्यसतर्फ सजगताका साथ अघि बढ्न आग्रह गर्छु ।’
उनले विद्यालयका शिक्षक तथा जनप्रतिनिधिलाई समेत खेलकुदको मर्मका बारेमा अझै चेतना जागृत गर्न आवश्यक रहेको धारणा अधि सार्दै ५६ वटा पालिकामा १ गाउँ १ खेल मैदानको निर्माण कार्य सुरु भइसकेको बताइन् ।
कार्यक्रममा मन्त्रालयका सचिव विनोद बहादुर कुँवरले समृद्ध प्रदेशको रुपमा अगाडी वढाउन खेल क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताउँदै प्रदेशको खेलकुदको सम्वद्र्धन र प्रवद्र्धन गर्न नवगठित खेलकुद परिषदले भूमिका निर्वाह गर्ने बताए ।
सो अवसरमा गण्डकी खेलकुद परिषदका सदस्य सचिव तेजबहादुर गुरुङले गण्डकी प्रदेश खेल क्षेत्रकै अग्रज प्रदेश भएकोले पनि सबैलाई समेटेर खेलकुद विकासमा अघि वढ्ने प्रतिबद्धता जनाए । उनले सामाजिक विकास र रुपान्तरणका लागि पनि खेलकुदको अपरिहार्यत रहेको धारणा अघि सार्दै समाजका हरेक अंगले खेलकुदको बारेमा चर्चा गर्नु पर्ने वातावरण बनाउन आवश्यक रहेको बताए ।
कार्यक्रममा नव गठित गण्डकी खेलकुद परिषदका सदस्य दिल बहादुर गुरुङ, खेलकुद महाशाखाका प्रमुख तेज प्रसाद काफ्ले, नव गठित कास्की जिल्ला खेलकुद विकास समितीका अध्यक्ष तोरण बहादुर बानियाँ, पश्चिमाञ्चल क्षेत्रिय खेलकुदका निर्देशक कृष्ण तिमिल्सिना, खेलकुद महाशाखाका प्रकाश ओझा लगायतले गण्डकी प्रदेशमा आयोजना हुने नवौराष्ट्रिय खेलकुद प्रतियोगिताको भव्य तयारी सँगै खेलकुदका प्रशिक्षण कार्यक्रमहरुलाई समेत अगाडी बढाउने बताएका थिए । गण्डकी प्रदेश सरकारले प्रदेश खेलकुद र जिल्ला खेलकुदलाई पूर्णता दिए सँगै अव प्रदेश खेलकुद चलायमान हुने अपेक्षा गरिएको छ ।