गुटबन्दी नगर्न आग्रह गरिरहेको छु, यसलाई कमजोरी नसोचौंः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा कुनै हालतमा गुटबन्दीका गतिविधि स्वीकार गर्न नसक्ने स्पष्ट पारेका छन् ।

आज बिहान बल्खुमा पार्टीको कन्द्रीय कार्यालयको भवन शिलान्यास कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले केही नेतालाई सम्झाउने प्रयास आफूले जारी राखेको र त्यसलाई कमजोरीका रुपमा नलिन चेतावनी दिएका हुन् ।

पार्टीलाई अनुशासित बनाउन आफूले सम्झौता नगर्ने र गुटगत भइरहेका विभिन्न गतिविधिलाई स्वीकार गर्न नसक्ने प्रधानमन्त्री ओलीको भनाई थियो । पार्टीका नेता तथा कार्यकर्तालाई प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष ओलीले अनुशासित भएर काम गर्न आग्रह गरेका छन् ।

पार्टीका नेता माधवकुमार नेपाल तथा झलनाथ खनाललाई इंगित गर्दै ओलीले अनुशासित भएर काम गर्न हरेकलाई सम्झाउने कार्य आफूबाट भइरहेको बताए । आफ्नो सम्झाउने प्रयासलाई कमजोरीका रुपमा लिएर गुटगत गतिविधिलाई निरन्तरता दिएको अवस्थामा त्यो अब सम्भव नहुने ओलीले स्पष्ट पारेका छन् ।

ओलीले आफ्ना पार्टीका असन्तुष्ट केही नेतासंग केही दिन यता निरन्तर रुपमा एक्लाएक्लै छलफल गर्दै आएका छन् । हिजो साँझ पनि प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष ओलीले वरिष्ठ नेता माधवकुमार नेपालसंग छलफल गरेका थिए ।

कमेन्टहरु
Loading...