काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकर्ण विष्टले प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली तथा वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको भेटवार्ता ‘कालो बादलमा चाँदीको घेरा भेटिएझैं’ भएको बताएका छन् । हिजो पार्टी अध्यक्ष ओली तथा नेता नेपालबीच लामो समयको अन्तरालपछि भएको भेटलाई उनले ‘कालो बादलमा चाँदीको घेरा भेटिएझैं’ भएको टिप्पणी गरेका हुन् ।
लामो समयको घस्साघस्सी तथा विवाद पछि दुवै नेताबीच भएको भेटवार्ताले अन्य नेता तथा कार्यकर्तामा केही आशा पलाएको नेता विष्टको भनाई छ । सामाजिक सञ्जाल फेसबुकमार्फत् नेता विष्टले पार्टीलाई फुटको संघारबाट जोगाउन समेत सबैलाई अपील गरेका छन् ।
‘हिजो साँझ पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओली र वरिष्ठ नेता कमरेड माधव नेपालबीच छलफल भएको छ । कालो बादलमा चाँदीको घेरा भेटिएझैं कार्यकर्ताहरूमा आशा पलाएको छ ।’ उनले फेसबुकमा लेखेका छन्, ‘विलियम शेक्सपियरले भनेजस्तै जहाँ नदी गहिरो हुन्छ, त्यहाँको जलप्रवाह शान्त र संयम हुन्छ । जस्तोसुकै कठिन परिस्थितिमा पनि संयम, धैर्य र इमान्दार प्रयत्नले समस्याको समाधान सम्भव छ । हेक्का राखौं, समय र समुद्रको छालले कसैलाई पर्खंदैन ।’
आज नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवस भएको र हजारौं योद्धाको रगत पसिनाबाट निर्मित पार्टीको एकतालाई जोगाउन संकल्प गर्ने समय आएको उनको भनाई छ । ‘आज नेपाल कम्युनिस्ट पार्टीको ७२ औं स्थापना दिवस । हजारौं योद्धाको रगत पसिनाबाट निर्मित पार्टीको एकतालाई जोगाउन संकल्प गरौं । आन्दोलनको रक्षार्थ निरन्तर प्रयत्न गरौं ।’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।