पोखरा । सरकारले सहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेसँगै पोखरामा पनि विद्यालय बन्द हुने भएको छ । यसअघि भने पोखरा महानगरपालिका र निजी विद्यालयका छाता संगठनले विद्यालय बन्द नगर्ने पक्षमा थिए ।
कोरोना संक्रमण बढेसँगै विद्यालय क्षेत्र संक्रमणको जोखिम रहेको भन्दै सरकारले सहरी क्षेत्रका विद्यालय वैशाख मसान्तरसम्म बन्द गर्ने निर्णय गरेको थियो । तर उक्त निर्णयमा विद्यालयका छाता संगठनले विमति राख्दै पोखराका विद्यालय सञ्चालन गर्ने बताएका थिए । तर मन्त्रिपरिषद्को बैठक बसिसकेर माथिबाटै आदेश आएपछि विद्यालय बन्द गर्न लागेको प्याब्सन कास्कीका अध्यक्ष प्रेम शर्मा बताउँछन् ।
‘अब सरकारको आदेश पालना नगरे त कारवाही गर्लान् नि ।’ उनले भने, ‘सुरुमा महानगरपालिकाले बन्द नगर्ने कुरा गरेको थियो, तर क्याबिनेटको निर्णय आएपछि त्यसलाई क्याबिनेटको निर्णयले काटिन्छ होला ।’
तत्कालका लागि विद्यालय बन्द निर्णय गरे पनि संस्था सरकारको निर्णयमा सहमत नभएको शर्माले बताए । ‘सञ्चालन गर्न दिँदैनन् होला बन्द गर्नैप¥यो, बन्द आह्वानप्रति हाम्रो विमति त छँदै छ, भएपनि अहिले यसलाई स्विकार्न प¥यो’ उनले भने ।
सरकारको निर्णयले विद्यार्थी सुरक्षित रहन्छन् भन्नेमा आफू अलमल रहेको उनको भनाई छ । ‘घरमै बसेर बच्चा सुरक्षित हुन्छन् भन्ने छैन भए राम्रो’ उनले भने, ‘तर घर नबसी झन् बढी बाहिर डुले भने यता पढाई नहुने स्वास्थ्य सुरक्षा नहुने हो कि भन्ने चिन्ता छ ।’
पृथ्वीनारायण क्याम्पसका प्रमुख प्रा.डा.सरोज कोइरालाले भौतिक उपस्थिति नभई भर्चुअल माध्यमबाट पढाइ सञ्चालन गरिने जनाएका छन् ।
यता जिल्ला प्रशासन कार्यालय कास्की प्रमुख थानेश्वर गौतम पनि क्याबिनेटको निर्णय बमोजिम विद्यालय बन्द हुने बताउँछन् । ‘मन्त्रिपरिषद्को निर्णय बमोजिम गर्छौं, बन्द नगर्नेलाई कानुन बमोजिम कारवाही हुन्छ ।’ गौतमले भने, ‘पोखरा महानगरभित्र वैशाख मसान्तरसम्म विद्यालय बन्द गरेर भर्चुअल कक्षा सञ्चालन गर्नप¥यो ।’
यसअघि कास्कीमा उल्लेख भएकोमा सच्चाइएको छ ।