चितवन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले कोरोनाका कारण पर्यटन क्षेत्रमा परेको प्रभाव न्यूनीकरणका लागि सरकारले प्रक्रिया सुरु गरेको बताएका छन् ।
आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले कोरोना कहरका कारण पर्यटन क्षेत्र प्रभावित भएको बताएका हुन् ।
कोरोनाका कारण अघिल्लो वर्षसमेत सो क्षेत्र प्रभावित बनेको बताउँदै उनेल भने, ‘पर्यटन क्षेत्रलाई अघिल्लो वर्षको अनुभवका आधारमा कम असर हुने गरी काम गर्नुपर्छ ।’ पर्यटन क्षेत्रका लागि सरकारले प्याकेज ल्याउने तयारी गरिरहेको उनले जानकारी दिएका छन् ।
कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि सबै एक भएर लाग्नुपर्ने ढकालको भनाई थियो । जनताले जिम्मेवारी पूर्ण ढंगले साथ दिएमा सरकारले लकडाउन नगरिकन कोरोना नियन्त्रणमा लिनसक्ने उनले बताएका छन् । गत बुधबार माडीमा रामधाममा मूर्ति स्थापनाका लागि चितवन पुगेका मन्त्री ढकालले राज्यले सो क्षेत्रको विकासका लागि योजनाबद्ध तवरले काम अघि बढाउने बताएका छन् । रासस