पर्वत । धार्मिक तथा पर्यटकीय गन्तव्य मुस्ताङ जाने आउने पर्यटकका कारण यतिबेला पर्वत सदरमुकाम कुश्माबजार भरिभराउ हुन थालेको छ । दैनिक सयौंको संख्यामा पर्यटक कुस्मा बजार हुँदै ओहोरदोहोर गर्ने गरेका छन् । सडकमा आन्तरिक र बाह्य पर्यटक जति नै दौडिए पनि त्यसको सम्बन्ध कुस्मासँग थिएन । कुस्मासहित पर्वतमा रहेका प्राकृतिक पर्यटकीय गन्तव्य प्रवद्र्धन नहुनु तथा आधुनिक मानव निर्मित गन्तव्यको पनि अभावका कारण आउने जाने मात्रै हुन्थ्यो । नेपालकै पहिलो अग्लो र लामो झोलुंगे पुल कुस्मा र कटुवाचौपारी जोड्ने गरी बन्यो । यसपछि भने मुस्ताङ आवतजावत गर्ने पर्यटक कुस्मा बजारभित्र छिर्न थाले ।
यसको केही समयमा बागलुङ र पर्वत जोड्ने गरी कालीगण्डकी नदीमाथि झोलुंगे पुल बनेपछि पर्यटक झनै आकर्षित भए । केही महीना अगाडिबाट बागलुङ र पर्वत जोड्ने गरी कालीगण्डकी नदीमाथि ५६७ मिटर लम्बाइको झोलुंगे पुल बन्यो ।
यसलाई विश्वकै लामो पदयात्री पुल दाबी गरिएको छ । जिल्लामा रहेका झोलुंगे पुलले मात्र पर्यटकलाई आकर्षित गर्न नसकिरहेका बेलामा ‘द क्लिफ’ कम्पनीले शुरु गरेको बञ्जीजम्पले भने जिल्लामा पर्यटकको चहलपहल एकाएक बढाइदिएको छ । स्काइ साइक्लिङ, स्विङ र बञ्जीमा दैनिकजसो पर्यटकको आवागमन हुँदा बजार क्षेत्रमा चहलपहल बढेको छ । साहसिक पर्यटनका हिसाबले प्रचुर सम्भावना बोकेको पर्वतमा अब यी मात्रै सुपर म्यान शैलीमा विश्वकै दोस्रो लामो जीप लाइन बन्नेक्रम चलिरहेको छ । गत मंसिरबाट निर्माणको काम चलिरहेको जीपलाइनको अहिलेसम्म करीब ७० प्रतिशतभन्दा बढी काम पूरा भएको हार्नेस जीपलाइन प्रालिका अध्यक्ष विदुर पौडेल बताएका छन् ।
बञ्जीजम्पमा आउनेलाई ध्यानमा राखेर रिसोर्टसमेत सञ्चालन गरिएजस्तै जीप लाइनमा पनि रिसोर्टको सुविधा दिइने गरी निर्माणको काम भइरहेको छ । उनले जीप लाइन निर्माणको शिलान्यास हुँदा सिसाको पुल निर्माण गर्नेबारे कुनै योजना नरहेको भए पनि त्यसको केही समयमा पर्यटकको आकर्षणका लागि त्यो पनि प्याकेजका रूपमा आउनसक्ने भएकाले अब बनाउने योजना राखेको बताएका छन् । यससँगै ह्युमन स्लिङसटमा पनि पर्यटकले आनन्द लिन पाउने भएका छन् ।
भारतीय निर्माण कम्पनी श्याम जीपलाइनका इञ्जिनियर नवीन मेस्सीका अनुसार पर्वतमा बन्न लागेको जीप लाइनको लम्बाइ १ हजार ४ सय मिटर रहेको छ । यसलाई ‘सुपरम्यान’ शैलीको अर्थात् सुपरम्यान जस्तै घोप्टो सुतेर गन्तव्यमा पुगिन्छ । सुपरम्यान शैलीमा विश्वको सबैभन्दा लामो २ हजार ८ सय मिटरको जीपलाइन दुबईमा रहेको छ । जसको निर्माण अमेरिकी कम्पनीले गरेको थियो ।
जिल्लाको जीपलाइनमा एकैपटकमा २ जनासँगै झुण्डिन मिल्छ भने ६० देखि ९० सेकेन्डको समय अवधिभित्रमा यात्रा पूरा हुन्छ । हावाको गति र खेलाडीको तौलमा जीपलाइनको गतिभर पर्ने भए पनि जीपलाइनमा यात्रा सुरु गर्दा प्रतिघण्टा १ सय ३० किमीको गतिमा बगेर गन्तव्य नजिकिँदै जाँदा बिस्तारै घट्दै जाने उनको भनाई छ । कालिगण्डकी नदीको सतहबाट २ सय ३८ मिटरको उचाइबाट यात्रा सुरु हुनेछ भने त्यसको ल्याण्डिङ कालिगण्डकी नदी किनारमा बन्ने रिसोर्टमा हुनेछ ।
जीपलाइनका १ जना लगानीकर्ता कुस्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले कुस्मामा बन्ने जीपलाइनले कालीगण्डकी नदीलाई २ ठाउँमा नाघेर जाने भएकाले अन्यत्र ठाउँमा रहेका जीपलाइनभन्दा पर्वतको जीपलाइनमा पर्यटकको आकर्षण बढी हुने बताएका छन् । यसको लगानी कम्तीमा पनि ११ करोडभन्दा कम नहुने लगानीकर्ता बताउँछन् । आधा दर्जन अग्ला र लामा पुल, यान्त्रिक पुल, बञ्जीजम्प, जीपलाइन र आसपासमा रहेको नेपालकै लामा गुप्तेश्वर र अलपेश्वर गुफाले दिनप्रतिदिन पर्यटक बढ्दै गएको पर्यटन व्यवसायीले बताएका छन् । अहिलेको भिडभाडले कोरोनाले थलिएको व्यवसाय माथि उठ्ने अपेक्षा गरिएको पर्यटन व्यवसायी कृष्णप्रसाद श्रेष्ठले बताए । रासस