कांग्रेसमा क्रियाशील सदस्यताको म्याद पुनः थप

काठमाडौं । नेपाली कांग्रेसले आसन्न १४ औं महाधिवेशनको सन्दर्भमा पार्टीको क्रियाशील सदस्यताको विवरण केन्द्रमा बुझाउने समयावधि पुनः थप गरेको छ । जिल्ला कार्यसमितिले नयाँ क्रियाशील सदस्यता र नवीकरण सूचीको विवरण केन्द्रमा पठाउने अवधि पटकपटक थप्दै आएको कांग्रेसमा सो अवधि वैशाख १५ गतेसम्म निर्धारण गरेको छ ।

कांग्रेसको सोमबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले क्रियाशील सदस्यता नवीकरण र नयाँ क्रियाशील सदस्यताको ‘इन्ट्री’ वैशाख १५ गतेभित्र गरी सक्नुपर्ने अन्तिम मिति निर्धारण गरेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

वैशाख १५ गते राति १२ः०० बजे कम्प्युटर सफ्टवेयरमा क्रियाशील सदस्यताको ‘इन्ट्री’ हुने ‘सिस्टम’ स्वतःबन्द गरिने बैठकले निर्णय गरेकाले यस अवधिलाई अन्तिम मानिएको छ । यस अघि सो कार्यतालिकाअनुसार जिल्लाले नयाँ क्रियाशील सदस्यता र नवीकरणको सूची केन्द्रमा पठाउने अवधि गत चैत ३० गतेसम्म तोकिएको थियो । क्रियाशील सदस्यता नवीकरण र वितरणसम्बन्धी जिल्लाको प्रतिवेदन भने वैशाख १७ गते साँझ बजेभित्र पार्टी केन्द्रीय कार्यालयमा बुझाई सक्नुपर्ने बैठकले निर्णय गरेको छ ।

सफ्टवेयरमा ‘इन्ट्री’ भएका क्रियाशील सदस्यता नामावली सरोकारवालाको जानकारीका लागि केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले पार्टीको वेबसाइटमा सार्वजनिक गर्ने व्यवस्था गरिने पार्टी कार्यालयले जनाएको छ । त्यस्तै अन्य राजनीतिक दलबाट कांग्रेसमा प्रवेश गरेका सदस्यको क्रियाशील सदस्यता फारम यही वैशाख १५ गतेभित्र केन्द्रीय कार्यालयले जिल्लालाई उपलब्ध गराउने, त्यस्ता फाराम सबै प्रक्रिया पूरा गरी जिल्ला कार्यसमितिले वैशाख मसान्तभित्र केन्द्रमा पु¥याइसक्नुपर्ने र त्यसको कम्प्युटर ‘इन्ट्री’ क्रियाशील सदस्यता छानबिन समितिले नै केन्द्रमा गर्ने गरी व्यवस्था गरिएको पार्टी कार्यालयले जनाएको छ ।

सिन्धुपाल्चोक र सप्तरीमा हालसम्म क्रियाशील सदस्यताको प्रक्रिया सुरु नभएको एवं बारा र सोलुखुम्बुमा केही समयअघि मात्रै प्रक्रिया सुरु भएको हुनाले ती जिल्लाका हकमा वैशाख मसान्तभित्र जिल्लाबाट केन्द्रको सफ्टवेयरमा इन्ट्री गरिसक्नुपर्ने बैठकको निर्णय छ । मंगलबार बिहानसम्म नयाँ र नवीरकण गरी ६ लाख १० हजार १ सय ३४ क्रियाशील सदस्यता पार्टीको वेभसाइटमा अपलोड भएको कांग्रेस केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माले जानकारी दिएका छन् । यसमा नयाँ २ लाख ८९ हजार २ सय २१ र नवीकरण ३ लाख २० हजार ९ सय १३ क्रियाशील सदस्यता रहेका छन् । विदेशस्थित पार्टीका जनसम्पर्क समितिका क्रियाशील सदस्यता विवरण भने यसमा समावेश छैन ।

कांग्रेसले १३ औं महाधिवेशनमा ४ लाख ९० हजार क्रियाशील सदस्यता रहेकामा आसन्न १४ औं महाधिवेशनसम्म सो संख्याको शतप्रतिशत थप्न पाउने व्यवस्था गरेको छ । कांग्रेसले क्रियाशील सदस्यताको विवरणलाई व्यवस्थित बनाउन सबै जिल्ला कार्य समितिलाई पार्टीको वेबसाइटमा अपलोड गर्ने व्यवस्था गरेको छ । कांग्रेसको नियमावली बमोजिम क्रियाशील सदस्यता नवीकरण शुल्क २ सय तथा क्रियाशील सदस्यता आवेदन शुल्क ३ सय छ । कांग्रेसले १४ औं महाधिवेशनका लागि पार्टीको गाउँ/नगर वडा अधिवेशन आगामी असार २० गते, गाउँ/नगरपालिका अधिवेशन असार २२ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन असार २५ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन/एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असार २७ गते तोकेको छ ।

यसैगरी एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असार ३० गते, प्रदेश अधिवेशन आगामी आगामी साउन ६ गते र केन्द्रीय महाधिवेशन आगामी भदौ ७ देखि १० गतेसम्म काठमाडौं गर्ने तालिका निर्धारण गरेको छ । रासस

कमेन्टहरु
Loading...