पोखरामा संक्रमण बढेपछि ३ हजार विद्यार्थीको कोरोना परीक्षण गरिँदै

दिपक के श्रेष्ठ

पछिल्लो समय कम उमेर समूहमा कोरोना भाइरसको संक्रमण देखिएपछि कास्कीमा विद्यार्थीहरुको परीक्षण सुरु गरिएको छ ।

यसअघिको रिपोर्टमा कास्कीभित्र ४ वर्षदेखि १७ वर्ष उमेर समूहमा कोरोना देखिएपछि विद्यालय र जनस्वास्थ्य शाखाको पहलमा नमुना संकलन गरिँदैछ । केही विद्यालयका बालबालिकामा लक्षण देखिएपछि कन्ट्याक्ट ट्रेसिङकाआधारमा थप परीक्षण सुरु गरिएको पोखरा महानगरअन्तरगतको जनस्वास्थय महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज एसओएसलगायतका विद्यालयमा स्वाब लिने कार्यक्रम रहेको छ । त्यस्तै, यसअघि संक्रमण देखिएको विद्यालयमा पनि स्वाब परीक्षण गरिनेछ । हालसम्म १ सय बढी विद्यार्थीमा संक्रमण देखिएको महाशाखाले जनाएको छ ।

जनस्वास्थ्य महाशाखाका अधिकृत हरिलाल आचार्यले अब केही दिन विद्यार्थीहरुको स्वाब संकलन गर्ने बताए । ‘कति जनाको परीक्षण गर्ने भन्ने संख्या यकिन भइसकेको छैन’ आचार्यले भने ‘कन्ट्याक्ट ट्रेसिङको आधारमा स्वाब संकलन गर्दै जानेछौं ।’ उनले पोखराका विद्यालयमा कोरोना संक्रमण देखिइसकेको पुष्टी गरे ।

स्वास्थ्य निर्देशनालय गण्डकीले करिब ३ हजार विद्यार्थीको स्वाब परीक्षण गर्ने तयारी गरेको बताइएको छ । निजी विद्यालयहरुको छाता संगठन प्याब्सन कास्कीका अध्यक्ष प्रेम शर्माले केही दिनभित्र करिब ३ हजार विद्यार्थीको परीक्षण गरिने बताएका छन् ।

‘निर्देशनालयसँगको छलफलमा कक्षा १२ सम्मका विद्यार्थीको स्वाब संकलन गरिनेछ’ अध्यक्ष शर्माले भने ‘३ दिन अघिदेखि धेरथोर परीक्षण सुरु भएको हो, अब केही दिनभित्र ३ हजारको स्वाब परीक्षण हुनेछ ।’

बालबालिकामा कोरोना भाइरस संक्रमणको दर हरेक दिन वृद्धि हुँदै गए पछि सहरी क्षेत्रका विद्यालय बन्द गरिने छ । आज बिहान मन्त्रिपरिषद्को बैठकले कोरोना भाइरस संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)को सिफरिस अनुसार सहरी क्षेत्रका विद्यालय वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेको हो ।

त्यस्तै, सिनेमा हलसहित पार्टी प्यालेस, रात्रिकालीन व्यवसाय, रंगशाला लगायत बढी भीडभाड हुने स्थान समेत बन्द गर्ने सरकारले निर्णय गरेको छ ।

कमेन्टहरु
Loading...