विराटनगर । प्रदेश १ को सभाको हिउँदे अधिवेशन अन्त्य भएको छ । उक्त प्रदेशमा माघ ७ गतेबाट प्रदेशसभाको सातौं अधिवेशन सुरु भएको थियो । प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले मन्त्रिपरिषदको सिफारिसमा आइतबार राति १२ बजेबाट लागु हुने गरेर हिउँदे अधिवेशन अन्त्य गरेका हुन् । प्रदेश १ को प्रदेशसभा एउटा पनि विधयेकमा छलफल नगरेर नै अन्त्य भएको हो ।
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि गत माघ ७ गतेका लागि प्रदेशसभाको हिउँदे अधिवेशन बोलाइएको थियो । मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेपछि उक्त प्रदेशमा सरकार गिराउने कार्य सक्रियातका साथ सुरु भएको थियो । त्यस्तै पछिल्लो केही समय यता विपक्षी दलले अलपत्र रुपमा रहेका बहुवर्षे विकासका आयोजनाको काम निरन्तरता दिनुपर्ने, चालु वर्षका लागि स्वीकृत भएका कार्यक्रम सुचारु गनुपर्ने लगायतका विभिन्न माग राख्दै प्रदेशसभा बैठक अवरुद्ध गरिरहेका थिए ।
आजको बैठकका लागि प्रदेश सरकारले कृषि अनुदान सम्बन्धी विधयेक प्रदेशसभा सचिवालयमा लगेको थियो । तर उक्त विधयेकले समेत बैठकमा प्रवेश नपाएर हिउँदे अधिवेशन अन्त्य भएको हो । प्रतिपक्षले बैठक सुरु हुनासाथ उठेर विरोध जनाए पछि सभामुख प्रदीपकुमार भण्डारीले प्रदेश प्रमुख अधिकारीबाट प्राप्त भएको अधिवेशन अन्त्यको पत्र पढेर सुनाएका थिए ।