रिना थापा
स्पेनिश नागरिक सामा मारिया गारिजो गोमेज र पोखरा महानगर –२३ पामे निवासी विनोद पराजुलीबीच केही महिनादेखि बढेको विवाद अझै मिल्न सकेको छैन । बालगृह सञ्चालन गर्ने उद्देश्यले ०७५ सालमा कास्की प्रशासनमा दर्ता गरी ‘लचिला चरण नेपाल’ नामक संस्था स्थापनाको केही समयपछि उनीहरुबीच मनमुटाव शुरु भएको हो ।
सामाले आफनो उद्देश्य अनुरुप बेचबिखनमा परेका बालबालिकालाई संस्थामा आश्रय दिन नपाउने भएपछि विवाद सुरु भएको थियो । करिब ७ महिना अगाडि भवनमा बालबालिका राख्ने अनुमति लिन जाँदा मारिया फर्कन परेको थियो । विभिन्न संस्थाले लचिला चरण नेपालसँग बालबालिका राख्ने अनुमति नभएको भन्दै मारियालाई फर्काएपछि उनी र पराजुली बीच विवाद सुरु भएको थियो ।
यसअन्तरालमा विवाद चर्किदै गएपछि मारिया जिल्ला प्रशासन कार्यालय, पोखरा महानगरपालिका र वडा कार्यालय पुगिन् । तर सम्बन्धित निकायले हालसम्म ठोस निर्णय दिन सकेको छैन ।
पोखरा महानगरपालिका न्यायिक समितिमा समेत मारियाले विनोद विरुद्ध उजुरी दिएकी थिईन् । उजुरीउपर सम्बोधन गर्ने क्रममा महानगरले समाधान खोज्न सम्बन्धित वडा कार्यालयलाई पत्राचार ग¥यो । यसबीच, वडा र जिल्ला प्रशासन कार्यालयमा दुबै पक्षबीच पटकपटक बैठक बसिसक्दा पनि कुनै निर्णय हुन सकेको छैन ।
सरोकारवालाका अनुसार सामा कानुन बमोजिम नचल्दा सम्बन्धित निकायलाई निर्णय लिन असहज भएको छ । नेपालमा आएर विदेशी नागरिकले अनुमति बिना आर्थिक संकलन गर्न पाउँदैनन् । मारियासँग उक्त अनुमति छैन । मारियाले संकलन गरेको आर्थिक सहयोग नेपालको कानुन विपरीत हो ।
विवाद चुलिँदै जाँदा विनोदले विदेशस्थित दातालाई आफ्नोबारे गलत म्यासेज पठाएको आरोप सामाले लगाएकी छिन् । ‘विनोदले विदेशमा रहेका मेरा डोनरलाई म ठग भएको म्यासेज गरेका छन्,’ उनले भनिन्, ‘डोनरका अगाडि नराम्रो बनाउन खोजेर उनले मानसिक तनाव दिन थालेका छन् ।’
विवादको विषयमा विनोद पराजुली आफनो संस्थाको नाम बेचेर आर्थिक संकलन गरेको आरोप लगाउँदै आएका छन् । यसविषयमा उनीसँग थप बुझन खोज्दा भेटेरै कुरा गर्ने प्रतिक्रिया दिएका थिए । तर पछि भने लचिला चरण नेपालको सदस्यसँग यसविषयमा आधिकारिक कुरा बुझन आग्रह गरे । ‘म कलेज र कामका कारण व्यस्त छु, यसविषयमा मेरो संस्थाको सदस्यलाई बुझ्दापनि हुन्छ,’ उनले भने, ‘उहाँले बोलेको पनि आधिकारिक हो ।’
उनले सामा र आफुबीच लिखितरुपमा कुनैपनि सम्झौता नभएको दाबी गरेका छन् । ‘सामाले देखाएको डकुमेन्ट र फाइल मसँग पनि छ,’ उनले भने, ‘आधिारिक के हो ? देखाएपछि बुझिन्छ ।’ उनले आधिकारिकरुपमा डकुमेन्ट देखाउने भनिएका व्यक्तिले हामीलाई सम्पर्क गर्ने भनेपनि हालसम्म सम्पर्कमा आएका छैनन् ।
पराजुलीले सामा र विनोदबीच मिलेर काम गर्ने सम्झौता नभएको बताएपनि गन्थनलाई सुरुआती समयमा दुबै पक्ष मिलेर काम गर्ने भनिएको भिडियो रेकर्ड प्राप्त छ ।सामाका अनुसार विनोद र सामा बिच केही मौखिक र लिखित सम्झौता भएका छन् । सम्झौता अनुरुप नै संस्था दर्ता भएर निर्माण कार्य सुरु भएको देखिन्छ ।
तर संस्था उद्देश्य बमोजिम नचल्ने भएपछि पछिल्लो समय मारियाले जग्गामा तीनवटा संरचना निर्माण गर्दा ६० लाख रुपैयाँ खर्च भएको भन्दै क्षतिपुर्ति माग गरेकी छिन् । भवन निर्माण भएको जग्गा विनोद पराजुलीको बुबाको नाममा छ ।
सामा कानुनी हिसाबले कमजोर देखिएको एनजिओ फेडेरेश्न कास्कीका जिम्मेवार व्यक्ति बताउँछन् । तर कानुनी हिसाबले सामाको कमजोरी देखिएपनि उनको नियतमा खोट नभएको उनको भनाई छ । ‘विदेशी आएर बेचबिखनमा परेका व्यत्तिलाई आश्रय दिन्छु भनेको छ त्यो हाम्रो लागि राम्रो हो नि’ उनले भने ‘विदेशीलाई कानुनका बारे थाहा नभएपनि यहाँ बस्ने नेपालीलाई आफनो देशको कानुनका विषयमा ज्ञात होला ।’
उनका अनुसार सामाको कमी कमजोरी र गल्ती भएपनि सम्बन्धित निकायले छिट्टै सल्टाउनु पर्छ । ‘नेपाल आइसेकपछि हरेक विदेशीको जनधनको रक्षा नेपालको जिम्मेवारी हो’ उनले भने ‘कानुनी हिसाबमा साथसहयोग नपाउँदा असुरक्षित महसुस गरे बाहिर के सन्देश जान्छ ?’
विवादकै क्रममा गत फागुन १६ गते संस्था र विनोद पराजुलीको नाममा सामाले जिल्ला प्रशासन कार्यालयमा निवेदन दर्ता गराएकी छिन् ।