गण्डकी र लुम्बिनी प्रदेशमा एमाले नेतृत्वको सरकार हटाउन लागिपरेका छौंः प्रचण्ड

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गण्डकी तथा लुम्बिनी प्रदेशमा समेत नेकपा एमालेको सरकारलाई हटाउने तयारी भइरहेको बताएका छन् ।

आज शैक्षिक अभियान सम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले कर्णाली प्रदेशमा आफूहरुले प्रदेश सरकार ढलाइसकेको र गण्डकी तथा लुम्बिनी प्रदेश सरकारलाई पनि बद्लेर अर्को सरकार बनाउने तयारी भइरहेको बताएका हुन् ।

सरकार गठन तथा पुनःगठनको ठूलो प्रक्रियामा आफूहरु हाल लागिरहेको भन्दै प्रचण्डले व्यस्त भएको बताएका छन् । प्रचण्डले बहुमतसहित अर्को नयाँ मुख्यमन्त्रीका लागि नाम समेत छनौट गरेर गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भइसकेको र माओवादी केन्द्रले प्रदेश सरकारलाई दिएको समर्थन समेत फिर्ता लिएको बताए ।

कर्णाली प्रदेशमा भएको प्रकरणबाट प्रधानमन्त्री समेत रहेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पाठ सिक्नुपर्ने माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको भनाई थियो । लुम्बिनी प्रदेशको सरकार परिवर्तनका लागि आफूहरुले बहुमत सदस्यको हस्ताक्षर संकलन गरिसकेको समेत प्रचण्डले दावी गरेका छन् । राजनीतिको केन्द्रीय तहमा भएको अराजकता तथा अन्यौलताको परिस्थितिलाई अन्त्य गर्न पहल भइरहेको समेत प्रचण्डले जानकारी दिएका छन् ।

कमेन्टहरु
Loading...