रुरु हाइड्रोको आइपिओ बाँडफाँट

काठमाडौं । रुरु जलविद्युत् परियोजनाले सर्वसाधारणका लागि जारी गरेको आइपिओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक एनएमबी क्यापिटलले आज बिहान रुरु जलविद्युत् परियोजनाले निष्काशन गरेको आइपिओ बाँडफाँट गरेको हो ।

कम्पनीले गत चैत २० गतेदेखि सर्वसाधारणका लागि खुला गरेको आइपिओमा १६ लाख ८३ हजार १ सय २१ आवेदकबाट २ करोड ३५ लाख ४६ हजार ४ सय ४० कित्ताको लागि आवेदन परेको थियो । आवेदन दिएकामध्येबाट योग्य कायम भएका १५ लाख ९० हजार ८ सय ९६ आवेदकलाई गोलाप्रथामा समावेश गरेर शेयर बाँडफाँट भएको छ । योग्य आवेदकमध्ये गोलाप्रथाबाट ३७ हजार ९ सय १६ लगानीकर्ताले दश कित्ताका दरले शेयर पाएको एनएमबी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत श्रीजेश घिमिरेले जानकारी दिएका छन् ।

रीतपूर्वक आवेदन दिएकामध्ये पनि १५ लाख ५२ हजार बढीको हात खाली भएको छ । प्रिमियम मूल्यमा शेयर निष्काशन गरेको कम्पनीले अंकित मूल्यमा २० प्रिमियम थप गरेर प्रतिकित्ता १ सय २० मा शेयर बिक्री गरिएको थियो ।

कम्पनीले ४ लाख ७ हजार ७ सय ६ कित्ता आइपिओ सर्वसाधारणका लागि खुला गरेको थियो । यसमध्ये ८ हजार १ सय ५४ कित्ता कम्पनीका कर्मचारीलाई र २० हजार ३ सय ८५ कित्ता सामूहिक लगानी कोषलाई छुट्याएको थियो । यसअघि गत फागुन ७ गतेदेखि आयोजना प्रभावित स्थानीयवासीको लागि ४ लाख ७ हजार ७ सय ५ कित्ता शेयर निष्काशन गरेको थियो । आइपिओको नतीजा मेरो शेयर, सिडिएसले आइपिओ नतीजाको लागि तयार पारेको वेबसाइट र बिक्री प्रबन्धक एनएमबी क्यापिटलको वेबसाइटबाट हेर्न सकिने छ । रासस

कमेन्टहरु
Loading...