पोखरामा कोरोना सम्बन्धी जनचेतनामुलक कार्यक्रमको आयोजना

पोखरा । पोखरामा कोरोना भाइरसको संक्रमण फैलिन नदिन जनचेतनामुलक कार्यक्रमको आयोजना गरिएको छ । जिल्ला प्रहरी कार्यालय कास्की तथा प्रहरी सेवा केन्द्र जिल्ला समन्वय समिति कास्कीले संयुक्त रुपमा जनचेतनामुलक कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा बोल्दै कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले कोरोना भाइरस संक्रमणको थप विषम् परिस्थिति सिर्जना हुन नदिन प्रशासन एक्लैको सक्रियताले सम्भव नहुने बताए । कोरोना भाइरसको रोकथाम तथा न्युनीकरणका लागि आम नागरिकले समेत जनस्वास्थ्यका मापदण्ड अनिवार्य रुपमा पालना गर्नुपर्नेमा उनको जोड थियो । ‘स्वयं सतर्कता अपनाएर स्वास्थ्य सुरक्षाप्रति संवेदनशील हुनु जरुरी छ ।’ उनले भने ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख, प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले नेपाल सरकारबाट जारी गरिएका स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गराउन तथा कोरोनाको संक्रमण थप फैलन नदिन प्रहरीले सरोकारवाला निकायसंग समन्वय गर्दै विविध कार्य गर्दै आइरहेको बताएका छन् ।

कार्यक्रममा सचेतनामुलक प्लेकार्ड प्रदर्शनसहितको ¥याली तथा मास्क नलगाएकालाई तत्कालै मास्क बितरण समेत गरिएको थियो । सामुदयिक प्रहरी सेवा केन्द्र जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष बोधराज कार्की, कास्कीमा क्रियाशील सामुदायिक सेवा केन्द्रका पदाधिकारी, नागरिक समाज कास्कीका अध्यक्ष तथा पदाधिकारी, विभिन्न आमा समूह, युवा क्लबका पदाधिकारी लगायतको कार्यक्रममा सहभागिता थियो ।

कास्की कोरोना संक्रमणको उच्च जोखिम रहेको जिल्लामध्ये १ रहेको र जिल्लामा संक्रमित दिनप्रतिदिन बढिरहेकाले जोखिम न्युनीकरण तथा सचेतना अभिवृद्धिका लागि उक्त कार्यक्रमको आयोजना गरिएको हो ।

खुल्ला सिमानाका कारण मानिसको सहज आवागमन, एकबाट अर्को ठाउँसम्मको सहज पहुँच र जनस्वास्थ्य सुरक्षाका आधारभुत मापदण्डको समेत पालना नहुँदा नेपालमा कोरोना संक्रमण बढिरहेको छ ।

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले पछिल्लो समय कोरोना संक्रमितको संख्या बढिरहेकाले आम नागरिकलई स्वास्थ्य सुरक्षा मापदण्ड उल्लंघन नगर्न र स्वयं स्वास्थ्य सतर्कता अपनाउन अनुरोध गरेको छ ।

कमेन्टहरु
Loading...