अविश्वासको प्रस्तावपछि ‘माहौल’ बनाउन काठमाण्डौं यात्रामा मुख्यमन्त्री गुरुङ

 

दिपक के श्रेष्ठ

नेपाली कांग्रेसको अगुवाइमा विपक्षी दलहरुले मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउँदै विशेष अधिवेशनको माग गरेपछि गण्डकी प्रदेशको राजधानी तरंगित भएको छ ।

विपक्षी दलका सांसदहरु कुन मन्त्रालयमा को जाने ? भनेर हिसाबकिताब गरिरहेकाबेला मुख्यमन्त्री गुरुङ भने ‘कुल’ देखिएका छन् । बिहीबार साँझ सञ्चारकर्मीसँग कुरा गर्दै गुरुङले यसलाई राजनीतिक प्रक्रिया भएको बताए ।

परिस्थिति आफु विपरित अझै भइनसकेको बताउँदै गुरुङ अब केही छिनपछि काठमाण्डौं जाँदैछन् । पारिवारिक भेटघाट भनिएपनि आगामी ६ गते हुने पार्टीको भेला र प्रदेशमा आफ्नो पक्षमा माहौल बनाउन मुख्यमन्त्री राजधानी जान लागेका हुन् ।

मुख्यमन्त्रीका प्रेस सल्लाहकार विक्रम न्यौपानेले राजधानी यात्रालाई ‘महत्वपुर्ण’ भनेका छन् । त्यसो त मुख्यमन्त्री गुरुङ जसपाका हरिशरण आचार्य र बाबुराम भट्टराईसँग निरन्तर संवादमा छन् भने राजमोका चित्रबहादुर केसीसँग काठमाण्डौंमा भेट्ने योजनामा छन् ।

संचारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री गुरुङले केन्द्रमा सरकारको समर्थन फिर्ता नलिएको प्रसंग निकाल्दै गण्डकीमा देखिएको गुटबन्दीलाई प्रतिगामी कदम भनि टिप्पणी गरेका छन् । ‘वामपन्थीको सरकार ढालेर गैरवामपन्थी सरकार ल्याउन खोज्ने यो कदम प्रतिगामी हो’ गुरुङले भने ।

माओवादीले मुख्यमन्त्री पाउने होइन, मन्त्री मैले दिएकै थिए भन्दै उनले चित्रबहादुर केसीलाई सरकारमा पनि नजाने ढाल्नमात्रै सघाउनु पर्ने कस्तो आपत आइलाग्यो ? भन्दै प्रश्नसमेत गरे । यही विषयमा घनीभुत छलफल गर्न अधिवेशन रोकेको मुख्यमन्त्रीले स्पष्ट पारे ।

काम गरिरहेको सरकारको विकल्प खोज्नु आश्चर्यजनक भएको उनले बताए । विपक्षीको यस्तो कदमले संघीयता र स्थिरतालाई सहयोग नगर्ने भन्दै उनले ‘भ्रष्टाचार गरेर हटाउन खोजेको हो कि ?, संघीयताविरोधी काम गरेर हटाउन खोजेको हो ?’ भन्ने प्रश्न गरेका छन् ।

‘काठमाण्डौमा रिसाएको बिरालोले पोखरामा खाबो चिथ¥यो’ गुरुङले भने, ‘केपी ओलीको रिस यता पोख्दैछन् ।’ प्रदेश प्रमुखसमेत हटाउने चर्चा चलेको विषयमा उनले भने ‘प्रदेश प्रमुख हटाएर लोकतन्त्र र संघीयता बलियो हुने हो र ?’

विपक्षीले विशेष अधिवेशनको माग गरिरहँदा राजधानी यात्रामा निस्कन लागेकोबारे जिज्ञासा राख्दा मुख्यमन्त्री गुरुङले भने ‘यो संवैधानिक प्रक्रिया हो, अधिवेशन बोलाउने/नबोलाउने काम सभामुखको हो ।’

कमेन्टहरु
Loading...